|

काठमाडौं : कतार विश्वकपका लागि भएको युरोपियन प्लेअफको निर्णायक खेलमा पोल्यान्डले कतार यात्रा पक्का गरेको छ। स्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्की चम्किएको खेलमा पोल्यान्डले स्विडेनलाई २-० ले पराजित गर्दै विश्वकप यात्रा पक्का गर्‍यो।

छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा पोल्यान्डले खेलमा अग्रता बनाएको थियो। ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाएका थिए। पोल्यान्डले ग्रेजगोरेज क्रिचोविकमाथि फल भएपछि पेनल्टी पाएको थियो। टीमका लागि निर्णायक गोल पिओट्र जेलिनिस्कीले ७२ औं मिनेटमा संभव बनाएका थिए।

खेलमा दबाब भने स्विडेनले बनाएको थियो। उसले ६१ प्रतिशत खेल नियन्त्रणमा लिएपनि गोल गर्न चुक्दा पोल्यान्डले विश्वकपमा स्थान बनायो। विश्वकप आगामी नोभेम्बरमा कतारमा हुँदै छ। पहिलो पटक विश्वकप समरबाट विन्टरमा सारिएको हो। कतार गर्मीलाई मध्यनजर गर्दै यो पटक २१ नोभेम्बरबाट प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.