|

धनकुटा : गृह जिल्ला धनकुटामा ‘आँखा बा’ भनेर चिनिने प्राडा रामप्रसाद पोख्रेललाई अभिनन्दन गरिएको छ। नेपाल नेत्र ज्योति संघ धनकुटाले १२ औं साधारणसभाका अवसरमा उनलाई अभिनन्दन गरेको हो।

धनकुटामा जन्मिएर धनकुटामा आँखा अस्पताल निर्माणका लागि आवश्यक जग्गासहित अन्य महत्वपूर्ण काममा योगदान गरेको भन्दै संघले उनलाई सम्मान गरेको हो। उनकै नाममा धनकुटामा आँखा अस्पताल सञ्चालनमा रहेको छ। धनकुटामा सञ्चालित आँखा अस्पतालले धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुमका नागरिकलाई सहज सेवा दिइरहेको छ।

पोख्रेलसहित नेपाल नेत्र ज्योति संघका पूर्वअध्यक्ष डा. तीर्थप्रसाद मिश्रलाई पनि सम्मान गरिएको छ। मिश्रले धनकुटामा आँखा अस्पताल स्थापनाका लागि योगदान गरेका थिए।

सम्मानपछि डा. पोख्रेलले संसार उज्यालो बनाउन सुखसयल छाडेर आएको बताए। उनले नेपालबाट ट्राकोमा रोग अन्त्य भएको बताउँदै अब आँखाको उपचारमा युवा सक्रिय हुन आवश्यक रहेको बताए।

नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाको विकासका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताए। उनले धनकुटा विभिन्न व्यक्तित्वको जन्मस्थल रहेको र यसको गरिमा जोगाउन सबैले पहल गर्नुपर्ने बताए। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सदस्य हेमराज भण्डारीले धनकुटाको विकासका लागि सबैले पहल गर्नुपर्ने बताए।

को हुन् डा. पोख्रेल?

आफ्नो जीवन देशकै सेवामा समर्पित गर्ने अठोटले सेवामा लागेका डा. पोख्रेलको जन्म विसं १९९४ वैशाख २२ गते धनकुटा जिल्लाको कचिडेमा भएको हो। नेपालमा आँखा उपचारका प्रणेता रहेका ‘आँखा बा’ को नामले चिनिएका पोख्रेल कविराज नरपति र योगमायाको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका थिए।

बुबाबाट संस्कृतको प्रारम्भिक शिक्षा लिएका उनले धनकुटाको गोकुण्डेश्वर बालमन्दिर हाइस्कुलबाट प्रवेशिका उत्तीर्ण गरेका थिए। उच्च शिक्षा अध्ययनका लागि विसं २०११ मा भारतबाट प्रमाणपत्र तह र विसं २०१६ मा भारतकै लखनौबाट एमबिबिएस उत्तीर्ण गरेपछि थप अध्ययनका लागि बेलायत गएका थिए।

विसं २०२० मा डिएलओ र २०२४ मा डियोको उपाधिपछि विसं २०२७ मा एफआरसिएसको उपाधि उनले बेलायतबाट प्राप्त गरेका थिए। त्यसपछि बेलायतमै बस्न आएका विभिन्न प्रस्ताव त्यागेर उनी स्वदेश फर्कका थिए। उनी हाल राजधानी काठमाडौंको बबरमहलमा स्थायी बसोबास गर्दै आएका छन्।

नेपाल फर्केपछि विस २०२९ मा पहिलो पटक दोलखामा आँखा शिविरमा सहभागी भएर करिब ५ सय जनाको निःशुल्क उपचार गरेका थिए। नेपालमा अन्धोपन हटाउन सरकारको मुख ताक्न नहुने उनको निष्कर्ष थियो।

नेपालको पहिलो आँखा अस्पताल राजधानीको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका संस्थापक डा. पोख्रेलले विसं २०३० वैशाख १ गते अस्पतालको सेवा शुरु गरेका हुन्। नेपालमा आँखासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न उनले विभिन्न कार्यक्रम चलाएका थिए।

डा. पोख्रेलले विसं २०२८ मा नेपालको पहिलो आँखाविज्ञका रुपमा ‘महेन्द्र विद्या भूषण’ प्राप्त गरेका थिए। उनलाई वि.स. २०२९ मा देशको दुर्गम क्षेत्रमा आँखा उपचारमा गरेको योगदानका लागि ‘गोरखा दक्षिण बाहु चौथो’, विसं २०४० मा नेपालमा मोतियाविन्दु उपचारका लागि ‘गोरखा दक्षिण बाहु तेस्रो’, विस २०४६ मा नेपालमा आँखा उपचारसम्बन्धी जनशक्ति तयार पार्न योगदान दिएबापत ‘त्रिशक्तिपट्ट तेस्रो’ प्रदान गरिएको थियो। उनले अन्य धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक पाएका छन्।

धनकुटामा विसं २०४३ सालमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका डा. पोख्रेलको अभियानमा सघाउँदै नेपाल नेत्र ज्योति संघ धनकुटाले विसं २०५३ सालमा धनकुटामा आँखा उपचार केन्द्र सञ्चालन गरेको थियो।

विसं २०७० साल मंसिर २९ गते धनकुटामा डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल सञ्चालनमा आएको थियो। उनले सो अस्पताललाई ८ रोपनी प्रदान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.