|

विराटनगर : सवारीसाधनसँगै मान्छेको लामो लस्कर। एउटा हातमा मिनरल वाटर र अर्कोमा कोकको बोतल। सँगै उभिएको साथीलाई ठेल्दै पेट्रोल भर्न बसेका  विराटनगर–२ का राम शाह अटोरिक्सा चालक हुन्।

पेट्रोल अभाव हुने त्रासका कारण यात्रु बोक्न छाडेर २ घण्टादेखि लाइनमा बसेको उनी बताउँछन्। ‘विराटनगरको कुनै पनि पेट्रोल पम्पमा तेल दिँदैन, तेल अभाव हुँदा काम नै रोकिन्छ,’ लाइन मिचिएला भन्ने त्राससँगै सुनाउँछन् उनी, ‘दुई घण्टादेखि पालो कुरेर लाइनमा बसेको पालो कहिले आउने हो?’

विराटनगर–४ का अनिल सिंह डेढ घण्टादेखि पेट्रोल पाउने आशामा लाइनमा बसेको बताउँछन्। हातमा बोतल बोकेर उभिएका उनी पनि अटो रिक्सा चालक हुन्। तेल अभाव भए काम ठप्प हुने भयले दिनभर अटो थन्काएर तेलको लाइनमा बसेको उनको भनाइ छ।

इन्धन बिक्रीवापतको कमिसन र ढुवानी भाडा वृद्धि नगरिएको भन्दै पेट्रोलियम डिलर एशोसिएशन र पूर्वाञ्चल पेट्रोलियम ढुवानी महासंघले आन्दोलन गरेपछि  विराटनगरका पम्पमा राम र अनिलजस्ता धेरै उपभोक्ता इन्धन भर्न पेट्रोल पम्पमा लाइन लागेका भेटिन्छन्।

डिलरलाई कमिसन नदिन आन्दोलन

पछिल्लो समय नेपाल आयल निगमले वृद्धि गरेको इन्धनको मूल्य १० रूपैयाँमा डिलरलाई कमिसन नदिने बताएपछि आन्दोलनमा उत्रनु परेको पेट्रोलियम डिलर एशोसिएशन कोशीका अध्यक्ष दुर्गाबहादुर बस्नेत बताउँछन्। उनका अनुसार निगमले डिलरलाई इन्धन बिक्रीको ३ प्रतिशत कमिसन दिँदै आएको छ।

आफूहरूले ५ प्रतिशत कमिसन माग गर्दै आएको भन्दै उनले वर्षेनी आफूहरूको लागत बढ्दै जाँदा खर्च धान्न नसक्ने स्थिति आएको बताए।

डिलरले कमिसन बढाउन माग गर्दै आन्दोलन घोषणा गरेका बेला आफ्नो मागसमेत सुनुवाई हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको पूर्वाञ्चल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष ध्रुव सिग्देलले बताए।

उनले पेट्रोलियम ढुवानी गर्दै आएका व्यवसायीले २०७४ सालदेखि भाडा नबढाएको भन्दै बुधबारदेखि नेपाल आयाल निगमबाट ‘पर्चेज डेलिभरी अर्डर’ (पिडिओ) समेत नलिएको जानकारी दिए। उनले शुक्रबारदेखि लोडिङ/अनलोडिङ समेत नहुने जानकारी दिए। नेपाल आयल निगमले आफ्ना माग सम्बोधन नगरे २० गतेदेखि सम्पूर्ण यातायात बन्द हुनसक्ने चेतावनीसमेत उनले दिए।

क्षमताको ९८ प्रतिशत मौज्दात रहेकाले उपभोक्तालाई नआत्तिन नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.