करणले ह्याट्रिकसँगै लिए पाँच विकेट

|

काठमाडौं : त्रिकोणात्मक टि-२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार पिएनजीविरुद्धको दोस्रो खेलमा ३७ रनको जित निकाल्दै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो। 

नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पिएनजी दुई बल बाँकी छँदै १६६  रनमा समेटियो । 

उसका लागि चार्ल्स अमिनीले ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे। टोनी उराले ४३ रन जोडे भने सेसे बाउ २५ र नोर्मान भनुआ १७ रनमा आउट भए। लेगा साएका र कप्तान असद भाला एक/एक रनमा आउट भए। 

नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए। उनले अन्तिम ओभरमा ह्याट्रिक गरे। सोमपाल कामी र अविनाश बोहोराले २/२ र सन्दीप लामिछानेले एक विकेट लिए।

करणले यही खेलमा अन्तर्राष्ट्रिय टि-२० मा ५० विकेट पूरा गरेका छन्। उनी अन्तर्राष्ट्रिय टि-२० मा ५० विकेट लिने दोस्रा नेपाली खेलाडी हुन्। यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन्। 

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । 

नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६६ रन बनाएका हुन् । अन्तर्राष्ट्रिय टि-२० मा उनको यो चौथो अर्धशतक हो। 

रोहित पौडेलले २३ बलमा ४१ रनको योगदान गरे। उनले २ छक्का र ४ चौका प्रहार गरे। २९ बल खेलेका आसिफ शेखले ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । बिस्फोटक ब्याटिङ गरेका मोहम्मद अदिल आलमले ११ बलमा ३१ रन बनाए। उनले ३ छक्का र १ चौका हाने । 

कुशल भुर्तेलले १७ र करण केसीले एक रन बनाउँदा आरिफ शेख २ रनमा अविजित रहे । नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएको थियो।

हालसम्म शतप्रतिशत जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। अहिलेसम्म खेलेका तीन वटै खेल हारेको पिएनजीको फाइनल प्रवेशको संभावना अत्यन्तै न्यून छ।

दुई खेल खेल्न बाँकी रहेको मलेसिया २ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। मलेसियाले तेस्रो खेलमा शुक्रबार पिएनजी र शनिबार नेपालसँग प्रतिष्पर्धा गर्नेछ। अंक तालिकाको पहिलो र दोस्रो हुने टिमबीच सोमबार फाइनल भिडन्त हुनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.