|

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन्।

गृहजिल्ला मकवानपुरको हेटौंडामा आज (बिहीबार) भएको राप्रपा नेपाल मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफूलाई धेरै नै माया गरेको बताए।

‘मकवानपुरका दाजुभाइ तथा दिदी बहिनीहरूले मलाई धेरै माया गर्नु भएको छ। मेरो राजनीतिक जीवनको उकालीओरालीमा हरेक संकट र चुनौतीमा तपाईंले मलाई अपार स्नेह माया र सदभाव दिनुभएको छ,' उनले भने, 'चुनावमा हारजित आफ्नो ठाउँमा छ तर मकवानपुरका दाजुभाइ तथा दिदी बहिनीहरूको माया मैले जीवनभर बिर्सिन सक्दिनँ चाहे त्यो २०४७ सालको राजनीतिक परिर्वतनको बेलामा होस् वा ६३ सालको राजनीतिक परिर्वतनपछि होस्।’

उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएका संकटबाट भागेर राजनीतिक जीवनबाट टाढिन नसकेको बताए। उनले आफू ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया नै रहेकोसमेत तर्क गरे।

‘मेरो शक्तिको स्रोत, मेरो ऊर्जाको मुहान तपाईूहरु हो। आज पनि हेर्नुहोस् त हरेक प्रतिकूलताका बाबजुद यहाँ प्रतिनिधिमूलक ढंगबाट उपस्थिति छ। म २०३८ सालको राष्ट्रिय पंचायतको चुनाव लड्दा मसँगै मकवानपुरको उकालीओराली घुम्ने झण्डै ८० वर्षको हुन लाग्नु भएका गगनबहादुर खड्का, गोविन्द गुरागाईंलगाएत साथीहरू पनि उपस्थित हुनुहुन्छ। नयाँ पिँढीका भर्खर १६/१७ वर्ष पार गरेका भाइबहिनी पनि यहाँ उपस्थिति हुनुहुन्छ,' थापाले भने, 'अहिले कमल थापालाई गार्‍हो, साँघुरो परेको छ। कमल थापालाई आक्रमण गरिएको छ, घेराबन्दी गरिएको छ। यस्तो अवस्थामा हामीले सहयोग गर्नुपर्छ भन्ने भावना राखेर तपाईंहरु यहाँ आउनु भएको छ। कमल थापालाई राजनीतिक रुपमा प्रहार गरेर घाईते बनाईएको छ। यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन, हामीले अलिकति भएपनि मलम लगाई दिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईंहरु आउनुभएको छ।’

उनले मकवानपुरका दाजुभाइ दिदीबहिनीको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको दाबी पनि गरे। उनले भने, 'एक पैसा भ्रष्टाचार गरेको छैन। कुनै अनैतिक र चरित्रहीन गतिविधिमा संलग्न छैन। म तपाईंहरुलाई विश्वास दिलाउन चाहान्छु कि बाँकी जीवन पनि तपाईंहरुको शिर निहुरिन दिन्नँ। यही कारणले आज राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा हामी स्वाभिमानपूर्वक बाँच्न सकेका छौं। अहिले पनि हामीले कुनै अपराध गरेका छैनौं। बेइमानी गरेका छैनौं, कसैलाई धोका दिएका छैनौं।'

अध्यक्ष थापाले आफूमाथि गीताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए। उनले खाएको गीताको कसम नतोडेको दाबी गरे। उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफूमात्र अलग्गिएको बताए।

उनले भने, 'केही साथिहरुलाई कमल थापाले पार्टी फुटाउनु भो, नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ। कतिपयलाई सायद त्यो पनि लागेको होला। विगतमा पार्टी फुटाउँदिन भनेर गीता छोएर कसम खानु भाथ्यो। अहिले पार्टी फुटाईदिनु भो। गीताको कसम तोड्नु भयो भन्ने पनि मनमा लागिरहेको मैले पाएँ। मैले पार्टी फुटाएको छैन। करिब एक डेढ महिनाअगाडि यही सभाकक्षमा आएर मैले आफ्नो पीडा, दुःख तपाईंहरुसमक्ष व्यक्त गरें र तपाईंहरु सामु मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै-एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरें।'

उनले आफूले चाहेको भए दल विभाजन गर्न आवश्यक केन्द्रीय सदस्य आफूसँग त्यसवेला रहेको दाबी पनि गरे। 'मैले कोहि साथी लिएर पार्टीबाट अलग भएको हैन। मैले चाहेको भए विधानबमोजिम राप्रपा विभाजन गर्न आवश्यक पर्ने संख्याका केन्द्रीय सस्दस्य हाम्रो साथमा थिए,' उनले भने, 'गएको महाधिवेशनमा ८० प्रतिशत हामीसँग सम्बन्धित केन्द्रीय सदस्यले चुनाव जितेका छन्। चाहेको भए कानूनबमोजिम नै पार्टी अलग गर्न सक्थ्यौं। मैले पार्टी फुटाउन सक्दिनँ, मिल्दैन गीताको कसम खाएको छु, त्यो कसम म तोड्न सक्दिनँ भनें।' 

उनले पार्टी फुटाएको भए अलि धेरै साथी आफूसँग हुने पनि बताए। 'पार्टी फुटाएको भए मैले रगतपसिना बगाएर बनाएको काठमाण्डौको पार्टीको विशाल घरमा हाम्रो पनि अंश लाग्थो। तर मैले पार्टीबाट अलग हुँदा यौटा कुर्सी पनि लगेको छैन,' उनले भने, 'मैले आफैंले आफ्नै पैसाले किनेर कुर्सी राखेको छु। कानूनबमोजिम पार्टी हामीले फुटाएका छैनौं। तर पार्टी सैद्धान्तिक विचलनमा गएपछि त्यहाँ गलत प्रवृत्तिहरु हाबी भएपछि, त्यहाँ निरन्तर हाम्रो अपमान गरिएपछि र हामीलाई निकाल्नेसम्मको षडयन्त्र हुन लागेपछि पार्टी फुटाउँदिनँ भनेर कसम खाएको छु भनेर सधैंको निमित्त समाप्त भएर बस्ने अनुमति मेरो अन्तरात्माले दिएन।'

उनले गीतामा भगवान कृष्णले अर्जुनलाई अन्यायसँग सम्झौता नगर, गलत प्रवृत्तिसँग सम्झौता नगर, युद्ध गर, धनुषवाण उठाऊ, म तिम्रो साथमा छु भनेको पटकपटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए। उनले पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो र नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक-पटक निवेदन गर्दा पनि सुनुवाई नभएपछि राप्रपाबाट अलग हुनुपरेको दुखेसो पोखे।

उनले महाधिवेशनमा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले लोकतन्त्रमाथि नै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनःस्थापनाको मुद्दा नबोक्ने बताए। उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अभियान शुरु गर्नेसमेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.