|

विराटनगर /काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छन्। उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको र संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताएकी छन्।

शहरी विकास मन्त्रालयले प्रदेश १ को विराटनगरमा शुक्रबार गरेको राष्ट्रिय शहरी नीति तथा शहरी विकास ऐन तर्जुमासम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने बताइन्।  

उनले भनिन्, ‘अब हामीले तीनै तहका सरकारका कार्य क्षेत्रबारे विवाद गरेर बस्नु हुँदैन। सँगै मिलेर अघि बढ्नुपर्छ।’ मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने र अब योजना छनोट वडा तहबाट हुनुपर्नेमा जोड दिइन्। मन्त्रालयले संघीयताअनुसार शहरी नीति परिमार्जन र शहरी विकास ऐन बनाउने उनको भनाइ थियो।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रित हुनुपर्ने बताइन्। उनले भनिन्, ‘विकास निर्माणका काम ठूला शहरमा मात्र केन्द्रित हुँदा बसाईसराई बढेको छ। अब विकास र बजेट अविकसित ठाउँमा पुर्‍याउनुपर्छ। यी विषय शहरी नीति परिमार्जन र शहरी विकास ऐन बन्नुपर्छ।’

शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले संघीयतापछि शहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएकाले बताए। विभिन्न सुख सविधा खोज्दै शहरमा बसाई सर्ने दर बढिरहेको बताउँदै उनले परिमार्जित शहरी नीति र शहरी विकास ऐनले यसलाई समेट्ने दाबी गरे।

शहरी विकास नीति परिमार्जन र शहरी विकास ऐन नहुँदा तीनै तहका सरकारबीचको समन्वयमा समस्या सिर्जना भएको उनको भनाइ थियो। शहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक दिलिप भण्डारीले मन्त्रालयले सातै प्रदेशमा सबैको रायसहित शहरी नीति परिमार्जन गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.