|

धनगढी : आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुदूरपश्चिममा चुनावी सरगर्मी बढेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेताहरु गाउँकेन्द्रित भएपछि प्रदेशका गाउँ-गाउँमा सरगर्मी बढेको हो।

केही समय अगाडि शहर, बजारमा मात्रै देखिने नेताहरु अचेल गाउँकेन्द्रित भएका हुन्। संघीय सरकारको नेतृत्व गरिरहेको नेपाल कांग्रेस पनि सुदूरपश्चिमका ९ वटै जिल्लामा चुनावी अभियानमा केन्द्रित भएको छ।

कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको नेतृत्वमा पार्टी, सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्न थालेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावलले बताए। ‘अहिले हामी सबै नेता कार्यकर्ता चुनावी अभियानमा जुटेका छौं,’ उनले भने, ‘प्रदेशमा नै सक्रिय रुपमा हाम्रो अभियान सञ्चालनमा छ।’

२०७४ को स्थानीय तहको निर्वाचनमा पहिलो भएको नेकपा एमाले पनि अहिले चुनावी अभियानमा नै सक्रिय छ। पार्टी विभाजनपछि झण्डै २० प्रतिशत जनप्रतिनिधि गुमाएको एमालेले पार्टीको प्रदेश, जिल्ला र पालिकास्तरीय बैठक र प्रशिक्षण गरिरहेको नेकपा एमालेका नेता राजेन्द्र रावलले बताए।

‘विगतको चुनाव जस्तै यसपाली पनि हामी संगठन विस्तारलगायत काममा व्यस्त छौं,’ उनले भने, ‘अब पार्टीको घोषणापत्र पनि आउँछ। त्यसैअनुसार फेरि सुदूरपश्चिममा घरदैलो अभियान थाल्छौं।’

नेकपा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादी पनि पहिलोपटक चुनाव लड्ने तयारीमा छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल भए पनि स्थानीय तहमा एकीकृत समाजवादीको उपस्थिति धेरै बलियो छैन। सुदूरपश्चिम प्रदेश र जिल्लाका बैठकहरू गरेर उक्त पार्टी पनि निर्वाचनको तयारीमा लागेको छ।

विशेष गरी निर्वाचनका लागि उम्मेदवार छनोटसँगै मतदाता रिझाउने अभियानमा समाजवादी पार्टी पनि केन्द्रित भएको प्रदेश इन्चार्ज मदनकुमारी शाह गरिमाले बताइन्। ‘अहिले विभिन्न बैठकहरु सम्पन्न हुने क्रममा छन्,’ उनले भनिन्, ‘लगत्तै हाम्रो कार्यकर्ता भेटघाट र मतदातामाझ जाने काम शुरु हुन्छ।’

नेकपा माओवादी केन्द्रले पनि आउने चुनावका लागि सक्रिय भएर मतदाताको घरदैलोमा पुग्ने अभियान शुरु गरेको जनाएको छ। प्रदेशका ८८ वटै स्थानीय तहमा पार्टी संगठन विस्तार तथा कार्यकर्ता भेलाबाटै मतदातासम्म पुग्ने अभियान सञ्चालन गरिएको हो।

उक्त अभियानमा प्रदेशस्तरीय नेताहरु सक्रिय रुपमा लागेको माओवादी केन्द्रका नेता लक्षिराम आचार्यले बताए। ‘अहिलेको चुनावमा हामी आक्रामक रुपमा लागेका छौं,’ उनले भने, ‘पार्टी संगठन विस्तार र आफ्ना चुनावी एजेण्डासहित हामी मतदाताको माझमा छौं।’

योसँगै अन्य राजनीतिक दलहरु पनि आफ्नो चुनावी अभियानमा जुटेका छन्। यसपटक स्थानीय तहको निर्वाचन दलगत हुँदा उपयुक्त नहुने भन्दै विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार पनि चुनावी अभियानमा केन्द्रित छन्।

०७४ मा भएको निर्वाचनमा सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ३९ मा नेकपा एमाले, ३८ मा कांग्रेस, १० मा माओवादी केन्द्र र एउटामा फोरम लोकतान्त्रिक विजयी भएको थियो। फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससंग एकता गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.