|

काठमाडौंः काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल(निफ)को तेस्रो दिन निफ फोरममा 'कस्तो अभिनय राम्रो अभिनय हो?' भन्ने विषयमा बहस भएको छ। अभिनेता विपिन कार्की, अभिनेत्री सरिता गिरी र रंगकर्मी तथा अभिनय प्रशिक्षक सुनील पोखरेल वक्ताको रुपमा रहेर अभिनयका विविध विषयमा बहस गरकेा थिए। 

कार्यक्रममा बोल्दै पोखरेलले आफू अभिनयको परिभाषा यही हो भनेर पक्का भइनसकेको बताए। पहिले अभिनय र जीवनमा केही फरक लागेपनि अहिले जीवन बाँच्नु र अभिनय गर्नु उस्तै लाग्ने अनुभव सुनाए।  

उनले भने, 'अहिले आएर एक्टिङ नगर्नु पो एक्टिङ हो कि जस्तो लागेको छ। मञ्चमा अथवा सिनेमामा देखिएका चरित्रले तपाईंको मन र दिमागमा आक्रमण गर्‍यो वा  मनमा छोयो भने सायद त्यो राम्रो एक्टिङ हो कि।' 

त्यस्तै, अभिनेता विपिन कार्कीले अभिनय भनेको अभिव्यक्तिको माध्यम भएकाले कसैलाई मन परेन भन्दैमा राम्रो या नराम्रो नहुने बताए। 

'एक्टिङ यही नै हो भनेर कसैले भन्न सकेको छैन। हरेकको आफ्नो आफ्नो चरित्र हुन्छ, आफ्नो आफ्नो स्वभाव हुन्छ। त्यही अनुसार दिइएको चरित्रलाई निभाइन्छ', विपिनले भने, 'मैले त्यो क्यारेक्टरलाई एउटा तरिकाले गर्न सक्छु भने अरुले त्यही क्यारेक्टरलाई फरक डाइमेन्सनबाट गर्न सक्नुहुन्छ। त्यसैले एक्टिङ भन्ने कुरा राम्रो नराम्रो होइन कि योर वे एण्ड माइ वे भन्ने हुन्छ।'

अभिव्यक्ति राम्रो र नराम्रो नभए पनि काममा कत्तिको इमानदार छ भन्ने कुराले भने फरक पर्ने उनले बताए।

विपिनको भनाइमा सहमती जनाउँदै अभिनेत्री सरिता गिरीले आफूले अभिनयका धेरै शैली पढ्दै पढाउँदै आएपनि काम गर्दा आफ्नै शैली बनिरहेको र अभिव्यक्तिको फरक शैलीलाई राम्रो नराम्रो भनेर छुट्टाउन नसकिने जिकिर गरिन्। 

बिहिबारदेखि सुरु भएको निफ सोमबारसम्म चल्नेछ। संसारभरीका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको नाराका साथ सुरु भएको महोत्सवमा ३९ देशका विभिन्न विधाका ८९ फिल्मले सहभागी जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.