|

पर्वत :  ब्राह्मण क्षेत्री लगायतले पूजाआजा गर्दै आएको मन्दिरमा आफूहरूको पूजा नचलाइएको भन्दै पर्वतको कुश्मा नगरपालिका–१ पाङमा दलित समुदायले छुट्टै मन्दिर निर्माण थालेका छन्।

पाङको ततरकोटमा रहेको दलित बस्तीले गण्डकी प्रदेश सरकारले तत्कालका लागि विनियोजन गरेको ६ लाख रूपैयाँबाट ततरकोट तल्लो पँधेरो शिव मन्दिर निर्माण आरम्भ गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष रमेश कुमार परियारले बताए।

'पूजा आराधनाको समयमा आफूहरूले लगेको धूप बत्तीलाई बेवास्ता गर्ने, नचलाउने, दलित समुदायलाई  मन्दिरमा प्रवेश गर्न अप्रत्यक्ष अवरोध गर्ने लगायतका कारण पूजाआजाको लागि छुट्टै मन्दिर बनाउनु परेको हो उनले स्पष्ट पारे।

‘म कहिले विदेश कहिले काठमाण्डौंमा बस्दै आएँ। गाउँले दिदीबहिनीहरुले फोन गरेर मन्दिरमा पूजा गर्न पाइएन भन्नुहुन्थ्यो’, उनले भने, ‘पवित्र भएर एक महिनासम्म शिवजीको पूजा गर्ने, हरितालिका तीजमा व्रत बस्ने तर तीनै महिलाको धूप बत्ती नचलेपछि हामीले हाम्रो पहिचानको छुट्टै मन्दिर बनाउन लागेका हौँ।’

मन्दिर निर्माण गर्दैमा जातीय विभेद अन्त्य भइहाल्छ भन्ने नभएको र आफूहरू जातीय विभेद विरुद्धको संघर्षमा भने निरन्तर लागिरहेको उनको भनाई छ। देशमा गणतन्त्र आएपछि पहिलेको तुलनामा धेरै क्षेत्रमा परिवर्तनको महसुस भएको भए पनि जातीय मुद्दामा भने परिवर्तन आउन नसकेको परियार बताउँछन्।

स्थानीय लक्ष्मी परियारले आफूहरू ब्राह्मण, क्षेत्री र अन्य जस्तै हिन्दु धर्मावलम्बीहरू भएको भए पनि अवसर नदिइनु अन्याय भएको महसुस गरेको बताइन्।

आफूहरू हिन्दु भएपनि हिन्दुत्वको महसुस गर्न नपाएका कारण गाउँका दाजुभाइहरूलाई मन्दिर निर्माणको लागि अनुरोध गरेको उनको भनाई छ।

‘हिन्दु भएर पनि हिन्दुत्वको महसुस भए नि यसरी त। ब्राह्मण क्षेत्रीले पूजा गर्ने मन्दिरमा हाम्रो धूप बत्ती नचल्ने भन्ने पनि हुन्छ र?’, लक्ष्मी भन्छिन्, ‘सबै कुरा चल्ने मन्दिर नचल्ने भयो। यही भएर हामीहरूले पनि व्रत बस्दा पूजा गर्नुपर्छ, हामीले पनि भगवानको पूजा गर्नुपर्छ भनेर मन्दिर बनाउन सुरु गरिएको हो।’

मन्दिरको नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले शिलान्यास गरेका छन्। त्यस अवसरमा बोल्दै उनले देशमा आएको गणतन्त्र र संघीयताले विभिन्न विभेदलाई क्रमिक रूपमा कम गर्दै लगेको बताए।

वर्षौँदेखि जरो गाडेर बसेको जातीय छुवाछुतको सवाल व्यक्तिले सोचेको जस्तै एकै पटकमा झ्वाट्ट अन्त्य नहुने उनको भनाई छ।

‘सामान्य कुरा साम्य हुन त कति समय लाग्छ। यो त सदियौंदेखि समाजमा जरो गाडेर बसेको विषय हो। सामाजिक परिवर्तन बिस्तारै आफ्नै लयमा हुँदै गरेको छ। छुवाछुत अन्त्य पनि हट्दै गएको छ’, अध्यक्ष गिरीले भने, ‘हामीले सोचेको जस्तै आजैको भोलि परिवर्तन सम्भव नहोला। तर अहिलेको पुस्ताले विभेदको नजरले हेरेको छैन, हेर्नु पनि हुँदैन।’

यस बारेमा कुरा गर्दा पाङका वडा सदस्य वीरेन्द्र रिजालले जातीय मुद्दाका सवालमा पहिलेको तुलनामा धेरै परिवर्तनको महसुस गरिएको बताउँदै दलित समुदायमा मन्दिर निर्माण गरिनु खुसीको कुरा भएको बताए। भगवानमा आस्था राख्न पाउने र पूजा गर्न पाउने व्यक्तिको स्वतन्त्रता हुने तथा मन्दिरहरू सार्वजनिक सम्पत्ति भएका कारण सबैको बराबर हक लाग्ने उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.