|

सुनसरी : नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरूले उद्योग चलाउन  समस्या भएको बताएका छन्।देशैभरिका उद्योगीले पूर्व जानकारीबिनै १४ घण्टा लोडसेडिङ भएकोमा विरोध गरिरहेका छन्।

उनीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै प्रतिक्रिया जनाएको छैन। रुस–युक्रेन युद्धका कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ।

युद्धका कारण भारतमा विद्युत महँगो भएको छ। एक साताअगाडि प्रतियुनिट भारतीय बिजुलीको मूल्य नेपाली ३८ रूपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो। ३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत खरिद गरेर नेपाली उद्योगलाई विद्युत आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीले बताएका छन्। 

करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगमा राति बिजुली काट्न थालेको बताएको छ। पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीले प्राधिकरणको चर्को आलोचना गरिरहेका छन् ।

इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा एक हप्तायता १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीले बताएका छन्। प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए तापनि एक सातादेखि उद्योगमा बेलुका ६ बजेदेखि १४ घण्टा विद्युत कटौती हुने गरेको बताएका छन्।

उद्योगीहरूका अनुसार प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन्। प्राधिकरणले एक साताअगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरूमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीको गुनासो रहेको छ।

सरकार तथा विद्युत प्राधिकरण आफैँले ग्यासको खपत कम गरौँ खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले  बताए। उनले सरकार र प्राधिकरण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्ने उद्योगको लागि राम्रो नभएको बताए।

सरकारले उद्योगमा तत्काल विद्युत उपलब्ध गराउनुपर्ने सञ्चालक अग्रवालको भनाई छ। अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे।

उनले भने, ‘सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौं। खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर विद्युत प्राधिकरणले व्यापक प्रचारप्रसार गरेको थियो। अप्रत्यासित रुपमा उद्योगमा लोडसेडिङ भएको छ। यसबीच रुस र युक्रेनबीच युद्ध भएको कारण भारतमा कोल आयात भएको छैन। छोटो समयका लागि उद्योग चलाउन सकिन्छ  तर लामो समय लोडसेडिङ भयो भने समस्या हुन्छ।’

रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक सातादेखि निरन्तर रुपमा विद्युत आपूर्ति कटौती भएको बताए। उनले प्राधिकरणले कुनै जानकारीविना एक हप्तादेखि बेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताए। उद्योगको विद्युत आपूर्तिमा पटक–पटक न्यून पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आएको भन्दै पोखरेलले १४ घण्टा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या भएको गुनासो गरे।

व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनु पर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए। उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुट्टै लाइनबाट विद्युत दिएकोमा त्यो विद्युतसमेत कटौती गरेको दाबी गरे।

उनले भने, ‘केही वर्षदेखि उद्योगमा लोडसेडिङ नभए तापनि पटक-पटक न्यून पावर ट्रिपिङ, पावर भोल्टेजका कारण उत्पादनमा कमी आउँदा समस्या भएको छ। उद्योग सञ्चालनमा मात्रै नभएर उद्योगका २ हजार कर्मचारी बस्ने आवासको समेत विद्युत कटौती गर्दा समस्या परेको छ। प्राधिकरणका निर्देशक कुलमान घिसिङले लोडसेडिङ गर्दैनौं भन्ने तर ७ दिनदेखि निरन्तर लोडसेडिङ हुँदै आएको छ।’

विराटनगरको शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताए। उनले उद्योगले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने बताए। १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाई छ।

उनले भने, ‘एक सातादेखि विद्युत प्राधिकरणले उद्योगमा १२ देखि १४ घण्टाको लोडसेडिङ गरेको छ। अहिले बैंकको ब्याज बढ्दै गएको छ। ढुवानीको लागत बढ्दै गएको छ। उद्योगलाई १२ देखि १४ घण्टा डिजेलमा चलाउन सकिन्छ ? कुनै पनि हालतमा सम्भव छैन। विद्युत अभावमा ५० प्रतिशत उत्पादन कटौती गर्दा कच्चापदार्थ मात्रै राखेर उद्योगले के गर्ने ?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.