|

इलाम : मनाङ मर्स्याङदी क्लबले इटहरीमा जारी १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी शुरुवात गरेको छ। इटहरी रंगशालामा भएको दोश्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले हराउँदै मनाङले सुखद शुरुवात गरेको हो।

मनाङको जितमा अफ्रिकी खेलाडी अफिज ओलावले नायक बने। खेलको दुवै गोल उनले गरेका थिए। पहिलो हाफको १६ औं मिनेटमा अफिजले शुरुवाती अग्रता दिलाएका थिए। शिशिर लेखीको क्रसपासमा अफिजले जाली चुमाए। पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १ गोल थप्यो।

खेलको ७८ औ मिनेटमा अफिजले अग्रता दोब्बर बनाए। खेलमा दुवै टोलीले केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनन्। खेलको तेश्रो मिनेटमा अरुण तामाङको प्रहार मनाङका गोलरक्षक विशाल सुनारको हातबाट फुत्किए पनि दिनेश राजवंशीले गोललाइनबाट क्लियर गरिदिए। १३ औ मिनेटमा मनाङका शिशिरले लामो दुरीबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कियो।

४५ औं मिनेटमा अफिजको पासमा फ्रयाङ्कलिन कुटेको प्रहार कञ्चनजंघाका डिफेन्डरले क्लियर गरिदिए। ६४ औं मिनेटमा कञ्चनजंघाका कप्तान सन्दिप लिम्बुको हेडर बाहिरियो। ६५ औं मिनेटमा शिशिरको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ६९ औं मिनेटमा प्रवेश कुँवरको पासमा दिपक राईको हेडर गोलरक्षक निगम सिंहले पञ्च गरेर बचाए।

७१ औं मिनेटमा अफिजको हेडर गोलरक्षकले सहजै नियन्त्रणमा लिए। ७४ औं मिनेटमा कञ्चनजंघाका अनिता राईको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो। इन्जुरी समयमा अञ्जन विष्टले गरेको प्रहार गोलरक्षकले सहजै नियन्त्रणमा लिए। खेलमा दुवै गोल गरेका अफिज म्यान अफ दि म्याच हुँदै नगद १० हजार प्राप्त गरे।

खेलपछि पत्रकारसँग कुरा गर्दै कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले पराजयका बाबजुद पनि आफ्ना खेलाडी उत्कृष्ट खेल देखाएको बताए। उनले बेहोरेको दुवै गोलमा असन्तुष्टी व्यक्त गरे। उनले टिमका विङ्गर परिपक्व नहुँदा पाएका केही राम्रा अवसर सदुपयोग नभएको बताए। मनाङ नेपालको उत्कृष्ट टोली भएको बताउँदै क्षेत्रीले विपक्षीहरुको कमजोरीलाई सदुपयोग गरेर स्कोर गर्ने रणनीति सफल नभएको बताए।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खेलमैदानमा पानीकै कारणले केही असहज भएपनि विपक्षी टोलीको खेल उत्कृष्ट भएको बताए। विपक्षी टिमको फिटनेसमा भएको कमजोरीको फाइदा लिन सफल भएको उनले बताए। पूर्वमा चल्ने खेपका कारण खेलाडीहरु थकित भएकाले सोचेअनुरुप खेल नभएको बताए।

आयोजकको व्यवस्थापन र खेलमैदान उत्कृष्ट भएको उनले बताए। धेरै खेल भएकाले अञ्जनलगायत केही अनुभवी खेलाडीलाई बेञ्चमा राखिएको उनले बताए। विपक्षी टोलीसँग मनाङका खेलाडीले भरौलमा खेलेका कारण उनीहरुको कमजोरीलाई उपयोग गरेको तामाङले बताए।

प्रतियोगिताको तेश्रो क्वार्टरफाइनल सोमबार झापाको रोलिङ क्लब धुलाबारी र अफ्रिकी टोली एभेनियर फुटबल क्ल्बबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.