|

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सुरु भएको छ।   छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी भुवन खत्रीले  आइतबार तालिमको शुभारम्भ गरे। 

सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ अभ्यास हुने गरेको छ। अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।   

हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन्। उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ।

प्रवक्ता सिलवालले भने, ‘यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ।’ संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी छन्।

तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ। यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.