नेताहरू भन्छन् - गठबन्धन गरे दुवैलाई लाभ छ

|

काठमाडौं : ‘अस्ति सुनेँ केपी ओली राजासँग मिल्छ। कहाँ छ राजा? केपी ओली मिल्न? कस्तो बुद्धि, मानसिकता यिनीहरूको? अर्काे म सम्झाउन चाहन्छु-वरिपरि परिक्रमा गराएर पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन’ शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)द्वारा आयोजित भेलालाई सम्बोधनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए। 

तर, आफूविरुद्ध पाँच दलीय गठबन्धनले मोर्चाबन्दी कसेपछि एमालेले आन्तरिक रूपमा आसन्न स्थानीय तहको निर्वाचनमा विपक्षी गठबन्धन बनाउनेबारे छलफल थालिसकेको छ। पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राख्ने निर्णय गरेपछि एमालेलाई दबाब बढेको हो।

सत्ता गठबन्धनले दबाब बढाएपछि ओलीले विपक्षी गठबन्धन खडा गर्न दुई राजावादी पार्टीसँग संवाद थालेका छन्। ओलीले संसद् विघटन गरेपछि बनेको गठबन्धन निर्वाचनसम्म जाने भएपछि एमालेले तीव्र दबाब बढेको छ। तर,ओलीले हरेक सार्वजनिक कार्यक्रममा पाँच दलीय गठबन्धनलाई एक्लै जित्न सक्ने दाबी गर्दै आइरहेको छन्। 

तर,ओलीले राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग छलफल थालेका हुन्। राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पार्टी फोडेर हिँडेका राप्रपा नेपालकाे अध्यक्ष थापा राजतन्त्र बाेक्न छाडेका छन्। तर, लिङ्देन नेतृत्वको राप्रपा भने अझै राजावादी नै हुन्।

ओलीले बिहीबार नेपालगञ्ज महानगरपालिकाका मेयर तथा राप्रपाको महामन्त्री धवलशमशेर राणासँग छलफल गरेका थिए। त्यसो त ओली राप्रपा नेपालसँग निरन्तर छलफलमै छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत ५ गते पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका थिए। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गर्ने भएपछि एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेलको प्रयास थालेको छ।

‘एमालेसँग प्रारम्भिक छलफल भएको छ। अब विस्तृत रूपमै छलफल गरेर अघि बढ्छौँ। आवश्यकताअनुसार अन्य दलसँग पनि सहकार्य हुनसक्छ’ अध्यक्ष थापाको भनाइ थियो।  

तर, राप्रपा र राप्रपा नेपाल दुवैले एमालेसँग चुनावी तालमेलको प्रयास गर्दै गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने दाबी गर्छन्। 

उनी भन्छन्, ‘हामीले अहिले कुनै पार्टीसँग तालमेल गर्ने पक्षमा छैनौँ। एक्लै प्रतिस्पर्धा गछौँ। हामी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छौँ।’ राप्रपाका नेताहरुले एकताको प्रयास भइरहेको छ भन्ने कुरा गरिरहेका छन् नि! भन्ने प्रश्नमा उनले कुनै सम्भावना नभएको प्रष्ट पारे। 

उनले भने, ‘हाम्रो पार्टी अध्यक्षज्यूसँग राप्रपा महामन्त्रीको भेटवार्तापछि केही कुरा आएको थियो। तर, त्यहाँ पार्टीले देशव्यापी रूपमा तालमेल गर्ने विषयमा कुराकानी भएको छैन।’

आगामी निर्वाचनमा एमालेले कुनै स्थानीय तहको आवश्यकतालाई हेरेर माथिल्लो तहको निर्देशनअनुसार गर्न निर्देश गरिसकेको बताए। 

त्यसो त २०७४ सालमा निर्वाचनमा पनि राप्रपा विभाजन अघि वाम गठबन्धन (एमाले–माओवादी गठबन्धन) हुँदा झापामा चुनावी तालमेल भएको थियो। एमालेकै सहयोगले झापा ३ बाट कांग्रेस नेता कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएको थिए। भने, झापा ५ मा ओलीले राप्रपाको सहयोग लिएर फराकिलो मत अन्तरले विजयी भएको थिए। 

राप्रपा नेपालसँग सहमति ड्राफ्ट!

एमालेसँगको चुनावी तालमेलको विषयमा दुवै तर्फबाट सहमतिको ड्राफ्ट बनिरहेको बताउँछन् राप्रपा नेपालका नेता राजाराम बर्तौला। 

उनी भन्छन्, ‘आआफ्नो पार्टीको तयारी र कसरी अगाडि बढ्ने बन्नेबारे दुईतिरबाट खाका बनाइरहेका छौँ। त्यसपछि त्यसलाई दुवै तर्फबाट आआफ्नो पार्टीमा राख्छौँ। त्यसपछि दुई पार्टीबीच बस्ने सहमति बनेको छ।’ अर्का, नेता सुशील श्रेष्ठ पनि एमालेसँग छलफलको भइरहेको बताउँछन्। 

उनी भन्छन्, ‘हामी नयाँ पार्टी भएकाले चुनावको सबै आन्तरिक तयारी गरिसकेका पनि छैनौँ। सबै जिल्लामा हाम्रो उम्मेदवारी दिन्छौँ। तर, तालमेल भने कुनै पार्टीसँग देशभर हुँदैन।’

एमालेसँग आवश्यकताको आधारमा मात्रै तालमेल गर्ने उनको भनाइ छ। तालमेलको विषयमा एमाले सकारात्मक भएको उनले बताए। 

‘हामीले स्वाभाविक रूपमा जिल्लामा तालमेल गर्नुपर्छ। स्थानीय स्तरमा तालमेल प्रयास गर्नुस्। हामी पनि केन्द्रमा गछौँ भनिरहेका छौँ’ उनले भने, ‘अन्य पार्टीसँग भन्दापनि एमालेसँग हाम्रो कुरा अगाडि बढेको छ। औपचारिक अनौपचारिक रुपमा छलफलमै छौँ।’ 

उनले एमालेसँग चुनावी तालमेलको कुरा अगाडि बढिसकेकाले सत्ता गठबन्धनसँग तालमेल गर्ने सम्भावना नरहेको प्रष्ट पारे। 

राप्रपासँग पनि निरन्तर संवाद  

एमालेसँगको चुनावी तालमेलको विषयमा गत बिहीबार राप्रपा महामन्त्री राणा एमाले अध्यक्ष ओलीसँग चुनावी तालमेलको विषयमा संवादको ढोका खोलिसकेका छन्। 

तर, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने अहिलेसम्म पार्टीको तर्फबाट औपचारिक रूपमा चुनावी तालमेलबारे छलफल नभएको बताउँछन्। 

उनी भन्छन्, ‘हामी अहिले राप्रपाले आफ्नै बलले उम्मेदवार उठाउने प्रयास गरिरहेका छाैँ। सबै स्थानीय तहमा उम्मेदवार उठाउँछौँ। त्यसमा मतलव हामीले पूर्ण रुपमा तालमेललाई निषेध गरेका छैनौँ। कुनै पनि राजनीतिक दलसँग औपचारिक रूपमा संवादको सुरुवात भएको छैन।’ पार्टी महामन्त्रीले एमाले अध्यक्ष ओलीसँग नेपालगञ्जमा भेटवार्ता गरेकोबारे पार्टीको औपचारिक कुनै प्रस्ताव नआएको बताए। 

उसो त त्यो उहाँको व्यक्तिगत भेटघाट हो त? भन्ने प्रश्नमा उनले भने, ‘पार्टीको महामन्त्रीले भेटिसकेपछि त्यसलाई व्यक्तिगत भेटवार्ता भन्न मिल्दैन। त्यो एउटा शिष्टाचार भेटवार्ता मात्रै हो। तर, औपचारिक रूपमा हामीले कुनै निर्णय गरेका छैनौँ।’

एमालेसँग तालमेलको विषयमा छलफललाई निरन्तता दिने सहमति भएको भने उनी स्वीकार गर्छन्। 

‘औपचारिक प्रस्ताव नभएपछि ओलीसँग फेरि भेट्ने र संवादलाई निरन्तरता दिने कुरा भएको छ। एमालेले पनि हामीले पनि तालमेलको बारेमा कुनै ठोस प्रस्ताव गरेको छैनौँ’ उनले भने। 

राप्रपा आफ्नै तागतमा उम्मेदवार उठाउने प्रयासमा रहेकाले स्थानीय आवश्यकता अनुसार जोसुकैसँग तालमेल हुनसक्ने उनको बुझाइ छ। 

त्यसो त राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आवश्यकताको आधारमा जुनसुकै राजनीतिक दलहरूले गठबन्धन गर्न चाहे स्वीकार्न तयार रहेको बताउँछन्। 

गत साता थाहाखबरसँगको अन्तर्वार्तामा अध्यक्ष लिङ्देनले भनेका थिए, ‘संघीय संसद् तथा प्रदेशको निर्वाचनमा १६५ वटै संसदीय निर्वाचन क्षेत्र ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवार उठाउने तयारी गरिराखेका छौँ। आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूले गठबन्धन गर्न उपयुक्त ठानेर कुरा गरेमा स्वीकार्न तयार छौं।’

गठबन्धन आवश्यकताको आधारमा हुने भएकाले कुनै पनि बेला कुनै पनि दलसँग हुनसक्ने उनको भनाइ थियो। 

‘वैचारिक रुपमा कुनै दलहरूको गठबन्धन हुँदैन। सिटका लागि हुने हो। जितका लागि गठबन्धन हुने भएकाले कसो गर्दा आफ्नो दललाई फाइदा हुन्छ त्यहीँ हिसाबले सबैले गठबन्धन गर्दै आइरहेका छन्। हामी पनि त्यही गर्ने हो’ उनको भनाइ थियो, ‘कुनै पनि राजनीतिक दलले गठबन्धन गर्न उपयुक्त ठानेर प्रस्ताव गरे र उक्त प्रस्ताव सही लागे हामी गर्न सक्छौँ। तर, यही पार्टीसँग भन्ने छैन।’

उनले देशव्यापी रुपमा कुनै पनि दल विशेषसँग चुनावी गठबन्धन नबन्ने प्रष्ट पारेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.