|

काठमाडौं : नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि सम्पन्न चुनावको मतगणना आज सुरू हुँदैछ। मतगणना मंगलवार बिहान साढे ९ बजेदेखि सुरू हुने जनाइएको छ।

देशभरका सबै ३४ वटा मतदान केन्द्रबाट मतपेटिका काठमाडौं ल्याइसकिएको र मंगलबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू गर्ने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन्।

चैत १९ गते सम्पन्न निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो। पाठकका अनुसार नेपाल बार एशोसियसनको भवनमा ६ ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ। अन्तिम मत परिणाम आउन तीन दिनसम्म लाग्न सक्ने अनुमान गरिएको उनको भनाइ छ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पाठकले भनिन्‚ ‘सकेसम्म भोलि नत्र पर्सिसम्म मात्रै अन्तिम मत परिणाम सार्वजनिक गर्न सकिन्छ।’

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको नयाँ कार्यसमिति निर्वाचित हुनेछ। नयाँ नेतृत्वका लागि अध्यक्षमा आठजना उम्मेदवार छन्। तीमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको प्यानलबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ।

उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।

बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्। नेमतिपा कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले गरेकी छन्। व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका छन्। संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक दलसम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजू श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.