|

श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले नियुक्त भएको एक दिन पनि पूरा नहुँदै पदबाट राजीनामा दिएका छन्। सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अली साब्रीले मन्त्री नियुक्त भएको २४ घण्टा पनि नपुग्दै मंगलबार बिहान राजीनामा दिएका हुन्।

उनीसँगै सोमबार अरु ३ जना गरी ४ मन्त्रीले शपथ लिएका थिए। तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोतबाया राजापाक्षले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।

अहिलेको सांसदभन्दा बाहिरका व्यक्ति सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनुपर्ने माग राख्दै उनले राजीनामा दिएका हुन्। त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भएपनि जिम्मेवारी दिन सकिने उनको भनाइ छ। तर राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारे।

देशको अर्थतन्त्र चरम संकटमा पुगेपछि अभाव र समस्या सृजना भएको भन्दै सर्वसाधारण आन्दोलित छन्। आन्दोलन दबाउन सरकारले संकटकालसँगै कर्फ्यू जारी गरेको थियो। आर्थिक संकटसँगै राजनीतिक संकट पनि गहिरिँदै गएपछि तत्कालीन सबै मन्त्री र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका थिए।

सरकारमा प्रधानमन्त्री मात्रै रहेपछि राष्ट्रपति राजापाक्षले सरकारमा सहभागी हुन अन्य दलका नेताहरूलाई आह्वान गरेका थिए। उनकै आह्वानअनुसार संकट समाधान गर्ने अठोटसहित मन्त्री बनेकाहरूले पनि धमाधम राजीनामा दिने क्रम शुरु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.