|
एजेन्सी

चीनले साङहाईमा जारी निषेधाज्ञा बढाएर शहरका २ करोड ५० लाख जनसंख्यामा लागू गरेको छ। साङहाईमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो। साङहाईमा देखिएको कोभिड–१९ संक्रमण दर नियन्त्रणका लागि शुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधान अपनाएको थियो। तर अहिले शहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।

साङहाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो शहर हो। महत्त्वपूर्ण वित्तिय केन्द्रसमेत रहेको यो शहर विगत एक महिनादेखि कोरोना संक्रमणको नयाँ लहरसँग संघर्षरत छ। अधिकारीहरूले कोरोनाको संक्रमण दर दैनिक १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन्।

शहरका केही बासिन्दाका अनुसार उक्त कडा प्रावधानअन्तर्गत कोही पनि आफ्नो घरबाहिर निस्कन पाउँदैनन्। साङहाईले यति बेला क्वारेन्टिन नीति लागु गर्दै चीनको शून्य–कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ।

यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ। अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेको समयमा चीनले शून्य–कोभिड रणनीति अगाडि सारेको हो।

शहरव्यापी परीक्षणपश्चात् २४ घण्टामा २ करोड ५० लाख मानिसको नमुना संकलन गरी गरिएको परीक्षणमा उक्त अवधिमा १३ हजार जनामा कोभिड संक्रमण देखिएको हो। समस्या समाधानका लागि कम्तिमा ३८ हजार व्यक्ति अन्य क्षेत्रबाट साङहाई खटाइएको बिबिसीले जनाएको छ। सरकारी समाचार संस्थाहरूले सन् २०२० मा उहान निषेधाज्ञापछि यो हालसम्मकै ठूलो देशव्यापी निषेधाज्ञा भएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.