|

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। बिओपीको बुधवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन्।

सशस्त्र प्रहरी बल, नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा रहेको बिओपीले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका जिम्मेवारी सम्हाल्ने बताइएको छ।

उक्त बिओपी जिल्लाको सदरमुकामदेखि करिब ११४ किलोमिटरको दूरीमा नेपाल चीन सीमा नाकामा रहेको छ। उक्त बिओपीमा सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर भट्टराईको कमाण्डमा सशस्त्र प्रहरी बल नेपालको टोली खटिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको सीमा नाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीति अनुरुप सशस्त्र प्रहरी बलको बिओपीहरू स्थापना गर्दै लगिएको उल्लेख बताए। उनले सशस्त्र प्रहरी कर्मचारीहरूले हिमालको कठ्यांग्रिने जाडोदेखि तराईको प्रचण्ड गर्मीमा समेत राष्ट्र र नागरिकको सेवामा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.