|

मुस्ताङ : प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन्।

कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको हो।

नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ।

हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँसीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुकाे भीड लाग्ने गर्दछ। यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढिरहेको स्थानीय बताउँछन्।

नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ धाम भारतको बद्रिनाथ र केदारनाथ जत्तिकै महत्वपूर्ण भएपनि ‘नजिकको तीर्थ हेला’ झैँ भइरहको केही स्थानीयहरुको गुनासो रहेकाे छ।

अरु सबै क्षेत्रमा गएर धार्मिक कार्यक्रम गरेपनि अन्तिममा मुक्तिनाथ धाममा गएर दर्शन गरेपछि मात्रै मुक्ति मिल्ने जन विश्वास रहेको छ।

पितृ उद्धारका लागि भक्तजनहरूले सोह्र श्राद्धमा कागबेनीमा पिण्डदान गरेर मुक्तिनाथ मन्दिरको दर्शन गरे पितृहरूको उद्धार भइ स्वर्गमा वास पाउने शास्त्रोक्ति छ।

वैदिक सत्य सनातन हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान विष्णुको पुण्य भूमि मानिन्छ।

यहाँ विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीले १०८ धारा बनेको किंवदन्ती पनि प्रचलित छ। उक्त १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ।

मुक्तिनाथ स्थलमा वि.सं १८७१ मा मन्दिर बनाइएको थियो।

यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका थियो।

बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन्।

मन्दिरमा ब्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन्। हिन्दुले भगवान् विष्णुको शिला रूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिम्पाेचेसँग जोडेर यस स्थललाई हेर्ने गरेको पाइन्छ।

त्यसैले पनि मुक्तिनाथ धाम पर्यटक र भक्तालुहरुका लागि पवित्र मानिन्छ।

मुक्तिनाथ क्षेत्रलाई अझै विश्वस्तरमा प्रचारप्रसार गर्न सके यसको महत्व र महिमा झनै बढ्ने स्थानीयहरुको दाबी छ।         

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.