|

हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा (एमाले)ले मकवानपुरको स्थानीय तहहरूमा धमाधम उम्मेदवारको टुंगो लगाउन थालेको छ। १० स्थानीय तह रहेको मकवानपुरको १०२ वटा वडामध्ये अधिकांशमा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको छ। केही वडामा सर्वसम्मत हुन नसकेपछि आकांक्षीहरूको नाम सिफारिस गरिएको छ।

एमालेले वडा कमिटीले वडास्तरमा नै सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभए निर्वाचनबाट दुईभन्दा बढी व्यक्तिको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ। वडाको उम्मेदवारको नाम सिफारिस गरिसकेको एमालेले अहिले स्थानीय तह प्रमुख र उपप्रमुखको नाम टुंगो लगाउन थालेको छ।

मकवानपुरगढी, राक्सिराङ र भीमफेदी गाउँपालिकामा प्रमुख र उपप्रमुखको नाम सिफारिस गरिसकेको छ। अन्य केही स्थानीय तहमा भने उम्मेदवार चयनको विषय पेचिलो बनेको छ। एमालेलाई थाहा नगरपालिका, मनहरी गाउँपालिका र वकैया गाउँपालिकाको उम्मेदवार चयनमा सकस परेको छ।

हेटौंडा उपमहानगरमा सकस

एउटा मात्रै उपमहानगरपालिका हेटौंडामा उम्मेदवार टुंग्याउन सबैभन्दा बढी सकस परेको छ। उपमहानगर प्रमुखमा एमाले मकवानपुरका ‘हेभी वेट’का नेताहरू नै आकांक्षी रहेकाले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंग्याउन सकस परेको हो। २०७० सालमा संविधानसभाको सदस्यमा निर्वाचित अनन्त पौडेल‚ एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर राना‚ एमालेको सचिवालय सदस्यहरू मदनकुमार दाहाल र ध्रुवप्रसाद चौलागाई, बहालवाला प्रमुख हरिबहादुर महत, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले उपमहानगर प्रमुखमा आकांक्षा देखाएका छन्।

संविधानसभा सदस्य पौडेल र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर एमालेमा अभिभावकीय र निर्णायक भूमिका खेल्दै आएका छन्। त्यसैले उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार चयनमा पनि उनीहरूको भूमिका निर्णायक हुने बताइएको छ। जिसस मकवानपुरका प्रमुख खुलाल पूर्वमुख्यमन्त्री पौडेलको पहिलो रोजाइका पात्र हुन्। केन्द्रीय सदस्य रानाले पनि यस्तै‚ पौडेल निकटकै हुन्। यसले पनि उम्मेदवार टुंग्याउन सकस परेको जानकारहरू बताउँछन्।

यस्तै‚ अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै उपमहानगर प्रमुख बनेका महत आफ्ना अधुरा काम पूरा गर्न भन्दै थप एक कार्यकाल आफूलाई अवसर दिनुपर्ने तर्क गर्दै आएका छन्।

उपमहानगर प्रमुखमा नौजनाको नाम सिफारिस

हेटौंडा उपमहानगर कमिटीले प्रमुख प्रमुखमा नौ जना र उपप्रमुखमा सात जनाको नाम सिफारिस गरेको छ। प्रमुख पदका लागि हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

यस्तै‚ उपप्रमुखको उम्मेदवारका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालको सिफारिस गर्ने निर्णय गरेको छ। उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ।

यस्तै‚ उपमहानगरपालिका कमिटीले १९ वटै वडाका लागि वडाध्यक्षसहित सदस्यहरूको नाम टुंग्याएर जिल्ला कमिटीमा सिफारिस गरेको छ। एमाले हेटौँडा उपमहानगरपालिकाको सबै वडा कमिटीको बैठकले वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको नाम सिफारिस गरेको हो। जसअनुसार हेटौंडा उपमहानगरपालिका

वडा नम्बर १ को अध्यक्षमा उत्तम प्रसाद पौडेल, वडा नम्बर २ को अध्यक्षमा हरिबहादुर राउत, वडा नम्बर ३ को अध्यक्षमा रामकुमार पुडासैनी‚ परेशमान बिडारी र कल्पना लामा, वडा नम्बर ४ को अध्यक्षमा नवीन सिग्देल, वडा नम्बर ५ को अध्यक्षमा सुशील घिमिरे, वडा नम्बर ६ को अध्यक्षमा विश्वराज राई, वडा नम्बर ७ को अध्यक्षमा राजन थापा र वडा नम्बर ८ को अध्यक्षमा बोलबहादुर कार्की‚ यशोदा उप्रेती‚ रमेशकुमार पौडेलको नाम सिफारिस गरिएको छ।

त्यस्तैगरी वडा नम्बर ९ को अध्यक्षमा नरेन्द्र भण्डारी‚ लक्ष्मणप्रसाद भण्डारी र गोमा शाह, वडा नम्बर १० को अध्यक्षमा धर्मराज बस्नेत‚ साधना श्रेष्ठ‚ फूर्वादोर्जे लामा‚ कितापसिंह लामा, वडा नम्बर ११ को अध्यक्षमा जुना दाहाल‚ रामचन्द्र न्यौपाने र दीपक शिवाकोटीको नाम सिफारिस गरिएको छ।

यस्तै‚ वडा नम्बर १२ को अध्यक्षमा राजेश नगरकोटी, वडा नम्बर १३ को अध्यक्षमा पेम्बा लामा, वडा नम्बर १४ को अध्यक्षमा दीपक खड्का, वडा नम्बर १५ को अध्यक्षमा सुनिल मोक्तान, वडा नम्बर १६ को अध्यक्षमा वसन्तप्रसाद लामिछाने, वडा नम्बर १७ को अध्यक्षमा भैरवबहादुर राई र लक्ष्मण खुलाल, वडा नम्बर १८ को अध्यक्षमा अनिल बानियाँ र वडा नम्बर १९ को अध्यक्षमा नरनाथ सुवेदी‚ इन्दिरा तामाङ र रत्नबहादुर ब्लोनको नाम सिफारिस गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.