काठमाडौं : सेवानिवृत्त भई जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.लाई संगठनको जिम्मेवारी बुझाएका छन्।
सोही अवसरमा उनले साङ्गठानिक विकासमा पुर्याएकाे योगदानको कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक द्वय पुष्पराम के.सी. र रामशरण पौडेललाई प्रशंसापत्र पनि प्रदान गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आज आयोजित विशेष समारोहमा महानिरीक्षक खनाललाई अतिरिक्त महानिरीक्षक द्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फूलमाला सहित मायाको चिनो प्रदान गरेर बिदाई पनि गरेका हुन्।
कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुति दिनुहुने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्ण मोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गरेका थिए।
महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सीमानामा हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँहरुमा अहोरात्र आम नागरिकको सुरक्षामा खटिइरहेको बताए।
समारोहमा बोल्दै अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी महानिरीक्षक खनाल आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स–सम्मान विदाई भएकोमा हार्दिक बधाई दिए।
सरकारले औपचारिक रुपमा सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति भने गरेको छैन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।