|

सर्लाही : सर्लाहीको उत्तरी चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ। सुक्खा मौसम शुरु भएसँगै विगतमा झैँ यो वर्ष पनि जिल्लाको उत्तरी चुरे क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ।

चुरे क्षेत्रका धारा, इनार, कुवा जस्ता खानेपानीका स्रोत सुक्न थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै समस्या भोग्दै आएका छन्। हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने भालुखोप केरावारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोला लगायतका क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको छ। यो वर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरूमा खानेपानीका स्रोत चाँडो सुक्न थालेको प्राविधिकहरू बताउँछन्।

एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य छन्। ‘गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा छ, त्यही कुवामा पनि हिजोआज रातभर जम्मा भएको पानीले दुई/चार घरलाई समेत पुग्दैन’, चुरेडाँडास्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलाका स्थानीय जितबहादुर रानाले बताए।

अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेको उनले बताए। चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला, खोल्साको पानी खान्छन्। दूषित पानी पिउँदा स्थानीय बासिन्दा वर्षेनि झाडापखाला लगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका उनले बताए। 

फागुन/चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे। ‘मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ’, रानाले भने, ‘एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता छ।’

खानेपानीको अभाव टार्न दुई वर्षअघि बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्‍याए पनि केही स्थान बाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयको गुनासो छ।

यस्तै हरिवन नगरपालिकाको उत्तरी क्षेत्रका नगरपालिकाले खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवं नयाँ निर्माण गर्ने र ठाउँ–ठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको हरिवन नगरपालिकाका प्रमुख (मेयर) गणेशप्रसाद प्रसाईंले जानकारी दिए।

नगरको अति विकट मानिने वडानम्बर १ र आसपासका क्षेत्रमा कसरी पानी पुर्‍याउन सकिन्छ भनेर अध्ययन गरेको र नजिकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत त्यहाँ खानेपानी पुर्‍याउने थप प्रयास भइरहेको मेयर प्रसाईंले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.