|

काठमाडाैं : सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक असफल भएको हो।

महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास विना निष्कर्ष सकिएको हो।

धेरै ठाउँमा सहमति नजिक पुगेको र त्यसलाई अन्तिम रुप दिन भोलि (मंगलबार) साढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरूबीच व्यापक छलफल भएको र भोलि त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताए।

भोलि चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यमबाट नै सार्वजनिक गर्ने सञ्चारमन्त्री समेत रहेका कार्कीको भनाई छ।

उनले भने, ‘चुनावी तालमेलका बारेमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ र सहमतिको नजिक पुगेका छौँ । भोलि साढे ११ बजे पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्नेछ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.