|

काठमाडौं : कोरोनाका तीनवटा लहर र दुईवटा लकडाउनले प्रभावित भएको नेपाली रंगमञ्च यतिवेला लयमा फर्किएको छ। कोरोना महामारीकै बीचमा पनि गएको वर्ष नेपाली रंगमञ्चमा केही महत्त्वपूर्ण घटनाहरू भए। गुरुकुलको पुनरागमन हुनु, पुरानो घर सञ्चालनमा आउनु, मण्डला नाटकघर आफ्नो नयाँ सुविधासम्पन्न भवनमा सर्नु र कोरोनाको जोखिम न्यून हुँदा देशभरका नाटकघरमा नियमित नाटक मञ्चन हुनु त्यसका केही उदाहरण हुन्। 

नयाँ वर्ष लागेसँगै रंग गतिविधि पनि बढेको छ। केही नाटकहरूको भर्खर मञ्चन सकिएको छ, केही नाटक मञ्चनरत छन् भने केही नाटक मञ्चनको तयारीमा छन्।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको नाटक 'खत' यतिवेला सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन भइरहेको छ। नाटकमा दशवर्षे माओवादी सशस्त्र द्वन्द्वको कथा रहेको छ। पुरानो घरको आफ्नै नाटकघरमा मञ्चन भएको यो तेस्रो नाटक हो। यसअघि भारतीकै लेखन तथा निर्देशन रहेका नाटक 'म' र 'लाटीको छोरा' मञ्चन भएका थिए। 

चैत २५ गतेदेखि मञ्चन शुरु भएको नाटक वैशाख १६ सम्म चल्नेछ। 'खत' पछि पुरानो घर 'सिटामोल' मञ्चनको तयारीमा रहेको छ। 

टेकुस्थित कौसी थिएटरमा आज (मंगलबार)देखि नाटक 'उलार' मञ्चन हुँदैछ। नयनराज पाण्डेको चर्चित उपन्यास उलारमा आधारित नाटकको परिकल्पना तथा निर्देशन चे शंकरले गरेका हुन्। नाटक वैशाख १८ गतेसम्म चल्नेछ।

गार्डेन थिएटर र कथा घेराको सहकार्यमा निर्माण भएको नाटकमा सरिता गिरी, सबिर चुरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईंलगायत कलाकारको मुख्य भूमिका रहेको छ। साढे दुई दशकअघि लेखिएको उपन्यासमा समाजको तल्लो तप्काका मजदुर वर्गको कथा रहेको छ।

नारायण वाग्लेको अर्को चर्चित उपन्यासमा आधारित नाटक 'पल्पसा क्याफे' मञ्चनको तयारीमा रहेको छ। थिएटर भिलेजको प्रस्तुति रहेको नाटक वैशाख ९ देखि मण्डला थिएटरमा मञ्चन हुँदैछ। सुरज सुवेदीको नाट्य रुपान्तरण रहेको नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन्। नाटकमा निर्देशक सुवेदी र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा देखिँदै छन्। 

नयाँ भवनमा सरेको मण्डलामा 'रोगन', 'मितज्यु' र 'तीन ट्रान्जिट' नामक नाटकको मञ्चन भएको थियो। 

त्यस्तै वान वर्ल्ड थिएटरको अंग्रेजी नाटक 'एस्पेसिया' मञ्चनको तयारीमा रहेको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने नाटक शुक्रबार, शनिबार र आइतबार गरी ३ दिन चल्नेछ भने शिल्पी समूहले पूर्वका विभिन्न ठाउँमा 'अलिकति उज्यालो' नाटक मञ्चन गरिरहेको छ। 

यीबाहेक भर्खरै गुरुकुलमा वीरेन्द्र हमालद्वारा लिखित तथा निर्देशित नाटक 'भवचक्र'को मञ्चन सकिएको छ। चैत २६ देखि वैशाख ७ गतेसम्म चल्ने भनिएको नाटक प्राविधिक कारणले ५ गतेसम्म मात्र मञ्चन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.