अजयमेरुमा भट्ट दोहोरिए

|
बैतडीको परशुराम नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शेरसिंह माल (दायाँ) र विमला महता (बाँयाँ)।

डडेल्धुरा : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका लागि सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ। नगर कमिटीको पूर्ण बैठकले नगर प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महतालाई अघि सारेको हो। 

माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्षसमेत हुन्। उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५ सय ४५ मतले पराजित भएका थिए। 

साउदले ४ हजार ६ सय २९ र मालले ४ हजार ८४ मत ल्याएका थिए। परशुरामवासीको सर्वागीँण विकासका लागि माओवादी केन्द्रको नेत्तृत्वमा सरकार हुनुपर्ने मालको भनाइ छ।  जिल्लामा गठबन्धन नहुने देखिएपछि पार्टीहरूले उम्मेदवार घोषणा गर्न थालेका छन्।

जिल्लाकै बढी जनसंख्या र मतदाता रहेको परशुराममा अरु पार्टीले उम्मेदवार छान्न सकेका छैनन्। अन्य पार्टीमा धेरै जनाले आकांक्षा व्यक्त गरेका छन्। 

कांग्रेसबाट ५ जना नगरप्रमुख र ४ उपप्रमुखमा आकांक्षी देखिएका छन्। नगर प्रमुखका लागि हालका मेयर तथा जिल्ला सभापति भीमबहादुर साउद, कांग्रेस प्रदेशसभा क्षेत्र (क) का सभापति कैलाशकुमार पाण्डेय, कांग्रेस परशुराम नगरसभापति भरत वडायर जोशी, पूर्व जिल्ला कार्यसमिति उप–सभापति धर्मानन्द भट्ट र परशुराम–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशीले दाबी गरेका छन्।

यस्तै, उपप्रमुखमा हालका उपमेयर कलावती देवी बोहरा, कांग्रेस महाधिवेशन प्रतिनिधि राजु भट्ट (जोशी), जिल्ला कार्यसमिति सदस्य बसन्ती र गोपा थापा आकांक्षी देखिएकी छिन्। 

नेकपा एमालेबाट पनि नगरप्रमुख र उपप्रमुख लागि ३/३ जनाले इच्छा व्यक्त गरेका छन्। जसमा अघिल्लो चुनावमा एमालेबाट निर्वाचित वडा नं. ७ का अध्यक्ष केशवसिंह बोहरा, राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही र ओमप्रकाश जोशी छन्। स्नेहीको राष्ट्रियसभा सदस्यको कार्यकाल गत फागुन २० गते सकिएको थियो।  

उपप्रमुखका गोमती पन्त, कलावती भट्टराई र रंगादेवी जाग्री छिन्। नेकपा (एकीकृत समाजवादी)बाट परशुरामको नगरप्रमुखका लागि नगर कमिटी अध्यक्ष रामसिंह धामी र युवा संघ नेपालका जिल्ला उपाध्यक्ष तथा परशुराम नगर अध्यक्ष मोहन ऐर (रोहन) आकांक्षी छन्। उपप्रमुखमा भने एकीकृत समाजवादीबाट बसन्ती बोहरा आकांक्षी देखिएकी छिन्।

अजयमेरुमा भट्ट दोहोरिए

अजयमेरु गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रले उमेशप्रसाद भट्ट ‘विकास’ लाई उम्मेदवार बनाएको छ। अजयमेरु गाउँ कमिटीको पूर्ण बैठकले भट्टलाई फेरि अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको गाउँपालिका कमिटी अध्यक्ष गणेश पाण्डेयले बताए।

भट्ट बहालवाला गाउँपालिका अध्यक्ष हुन्। देशभरिका स्थानीय तहमध्ये कार्यसम्पादनमा अजयमेरुलाई पहिलो बनाउने अध्यक्ष भट्टलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको उनले बताए। २०७४ सालको स्थानीय चुनावमा माओवादीले त्यहाँ ५ वडा बहुमतसहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो। यहाँ ६ वटा वडा रहेका छन्। 

अजयमेरु गाउँपालिकालाई कार्यसम्पादन मूल्यांकनमा देशकै पहिलो स्थानमा राखिएको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार अजयमेरु देशभरिमै पहिलो बनेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.