|

खोटाङ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिवेला सबैको ध्यान तानेको छ। निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन् भने कुन राजनीतिक दलका उम्मेदवार कस्ता आउने हुन् भन्ने चासो विषय बनेको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ। निर्वाचनमा गठबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन्। यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरे पनि खोटाङमा ती राजनीतिक दलको प्रभाव भने देखिदैन।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेस बाहेकको गठबन्धन बन्ने भएको छ। हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दलले एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो। हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्दा साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्षलाई एकअर्काले सहयोग गर्नेछन्।

त्यसो त यी चार पालिकामा तीन पार्टीबीच तालमेल हुँदा नेपाली कांग्रेस र नेकपा एमाले एक्लाएक्लै लड्नेछन्।

बाँकी ६ पालिकामा चार दलीय गठबन्धन बनेको छ, जहाँ एमाले एक्लै लड्नेछ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क, जन्तेढुंगा र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेदवार दिने गठबन्धन दलले सहमति गरेका छन्। जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार भने टुंगिएको छैन।

आसन्न स्थानीय तहको निर्वाचन कस्तो होला त ? कुन पालिका कसले जित्ला? यो सबैको चासोको विषय हो भन्दा फरक नपर्ला। त्यसो त वि.स. २०७४ सालमा भएको निर्वाचनमा भने जिल्लामा एमाले पहिलो दल बनेको थियो। उसले ५ स्थानीय तह प्रमुख र ७ उपप्रमुखसँगै ३७ वडामा जितेको थियो। ४ स्थानीय तह प्रमुख र ३ उपप्रमुखसँगै २७ वडामा कांग्रेसले जितेको थियो। यस्तै माओवादी केन्द्रले १ पालिका प्रमुखसँगै १२ वटा वडामा जित हात पार्दा २ वटा वडामा तत्कालीन संघीय समाजवादी (हाल जसपा) र एउटा वडा राप्रपाले जितेका थिए। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

जिल्लाको सदरमुकाम समेत रहेको एवं सबैभन्दा धेरै मतदाता भएको यस नगरपालिकामा वि.स. २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो। प्रमुखमा एमालेबाट दीपनारायण रिजालले ५ हजार ३४३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजनशेर राईले ४ हजार ७१८ मत पाएर दोस्रो र माओवादी केन्द्रबाट दुर्गा जयन्ती राईले ४ हजार ४३४ मत प्राप्त गर्दै तेस्रो भएका थिए। यस्तै तत्कालीन संघीय समाजवादी (हाल जसपा)का धनकुमार राईले ७३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण राईले ५०६ मत प्राप्त गरेका थिए।

आसन्न स्थानीय तहको चुनावमा भने यस नगरपालिकामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गर्ने निर्णय गरिसकेका छन्। त्यसो त एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीले एमालेको केही मत काट्ने र अन्य पार्टीले आफ्नो पुरानो मत मात्रै जोगाउने हो भने पनि एमालेलाई यस नगरपालिकामा पुनः विजयी हुन निकै कठिन छ।

सोझो तरिकाले हेर्दा यो नगरपालिकामा एमालेको भन्दा गठबन्धनको दोब्बर मत रहेको प्रष्ट छ तर मतदाताले पार्टीभन्दा पनि स्थानीय तहमा उम्मेदवार हेरेर मत हाल्ने गरेको हुँदा मत परिणामबारे यसै भन्न सकिन्न। १५ वटा वडा रहेकोमा ६ वटा वडामा एमाले, ३ वटा वडामा माओवादी, ३ वटा वडामा कांग्रेस, २ वटामा संघीय समाजवादी (जसपा) र १ वडामा राप्रपाका उम्मेदवार विजयी भएका थिए।

 यो नगरपालिकामा अघिल्लो निर्वाचनमा २६ हजार २८३ मतदाता थिए भने अहिले बढेर ३४ हजार ७८ पुगेका छन्।

हलेसी तुवाचुङ नगरपालिका

मतदाताको हिसाबले जिल्लाको दोस्रो स्थानीय तह यस नगरपालिकालाई नेपाली कांग्रेसले आफ्नो पकड क्षेत्र मान्दै आएको छ। अघिल्लो निर्वाचनलाई हेर्ने हो भने पनि सोही देखिन्छ। ११ वटा वडा रहेको यो नगरपालिकामा कांग्रेस ७ वटा वडामा, एमाले ३ वडामा र माओवादी १ वडामा विजयी हुँदा नगरपालिका प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो।

नेपाली कांग्रेसका उम्मेदवार इवन राईले ४ हजार ३९७ मत प्राप्त गर्दै विजयी हुँदा, नेकपा एमालेका खडेन्द्र राईले ३ हजार ९९९ मत पाएर दोस्रो, माओवादी केन्द्रका हरि गिरीले १ हजार ६८६ मत पाएर तेस्रो र तत्कालीन संघीय समाजवादी (हाल जसपा) का बच्चु राईले २४९ मत प्राप्त गरेका थिए।

यस नगरपालिकामा आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेको छैन। कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा उत्रिँदा माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन हुने सहमति भएको छ। एमालेबाट फुटेको एकीकृत समाजवादीले एमालेकै भोट काट्ने निश्चित हुँदा कांग्रेसलाई फाइदा हुने नेताहरू बताउँछन्। अघिल्लो निर्वाचनलाई हेर्दा प्रमुख प्रतिस्पर्धा यो नगरपालिकामा कांग्रेस र एमालेकै हुने देखिन्छ। हलेसी तुवाचुङ नगरपालिकामा अघिल्लो निर्वाचनमा १६ हजार ४९० मतदाता रहेकोमा अहिले बढेर  २० हजार ९२१ पुगेको छ। 

ऐसेलुखर्क गाउँपालिका

अघिल्लो निर्वाचनमा यस गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको थियो। ७ वटा वडा रहेकोमा एमाले ३ वटा वडा र कांग्रेस र माओवादी २-२ वडामा विजयी भएका थिए। तीन वडा जिते पनि एमालेले गाउँपालिका प्रमुख भने जित्न सकेको थिएन।

अध्यक्षमा कांग्रेसबाट विश्वनाथ निरौला २ हजार १३१ मत ल्याएर विजयी हुँदा एमालेबाट गृहबहादुर राई १ हजार ७३५ मत ल्याएर दोस्रो, माओवादीबाट श्रीबहादुर राई १ हजार ३९६ मत ल्याएर तेस्रो हुँदा तत्कालीन नयाँ शक्ति (हाल जसपा) का अगमसिं राईले ७८ मत प्राप्त गरेका थिए।

यो गाउँपालिकामा पनि चार दलले गठबन्धन गर्ने निर्णय गरेसँगै अघिल्लो मत परिणाम हेर्दा एमालेलाई जित्न कठिन देखिन्छ। कांग्रेसले जितेको पालिका माओवादीको भागमा परेको भन्दै कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन्। यसको फाइदा एमालेले उठाउन सक्छ तर एक ढिक्का भएर लाग्ने हो भने गठबन्धनका उम्मेदवार विजयी हुने नेताहरु बताउँछन्। ऐसेलुखर्क गाउँपालिकामा अघिल्लो निर्वाचनमा ९ हजार ३५२ मतदाता हुँदा अहिले बढेर ११ हजार ४९५ पुगेको छ।

केपिलासगढी गाउँपालिका

अघिल्लो निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित निकालेको यस पालिकामा योपटक भने निर्वाचन रोमाञ्चक हुने भएको छ। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री राजन राईको घर पनि सोही गाउँपालिका हो। एमालेलाई फुटको असर जिल्लाको सबैभन्दा धेरै सोही गाउँपालिकामा परेको नेताहरू बताउँछन्।

त्यसो त एमालेको धेरै भोट एकीकृत समाजवादीले काट्ने निश्चित छ तर केपिलासगढीमा कांग्रेस गठबन्धनमा सामेल छैन। त्यसैले पनि यस पालिकाको निर्वाचन जिल्लाकै रोमाञ्चक हुनेछ। किनभने अघिल्लो चुनावमा दोस्रो भएको कांग्रेस एक्लै चुनावमा उत्रिँदै छ भने अघिल्लो चुनावमा जितेको तर अहिले फुटेको एमाले पनि एक्लै चुनावमा हुनेछ।

यता जिल्लाकै सबैभन्दा धेरै आफ्नो मतदाता रहको स्थानीय तह मान्ने एकीकृत समाजवादी र जसपा पार्टी र साथमा माओवादीबीच गठबन्धन हुँदा कुन बलियो र कुन कमजोर भन्न सकिने ठाउँ छैन।

अघिल्लो निर्वाचनमा एमालेका कृष्णकुमार राई १ हजार ८०६ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका समीर राई १ हजार १५१ मत ल्याएर दोस्रो, तत्कालीन संघीय समाजवादी (हाल जसपा)का पूर्णराज राई ६१३ मत ल्याएर तेस्रो हुँदा माओवादीबाट मनकुमारी रसाइली ५८४ मत प्राप्त गर्दै चौथो भएका थिए। ७ वडा रहेकोमा ४ वडामा एमाले, २ वडामा कांग्रेस र १ वडामा माओवादी विजयी भएको थियो। केपिलासगढी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ८ हजार ७२२ मतदाता रहेकोमा अहिले बढेर १० हजार ८ सय ३८ पुगेको छ। 

खोटेहाङ गाउँपालिका

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको घर रहेको यस गाउँपालिका जिल्लामा एमालेको पकड क्षेत्र हो। अघिल्लो निर्वाचनमा यो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो। ९ वटा वडा रहेकोमा ६ वडामा एमाले विजयी हुँदा माओवादी २ वटा र कांग्रेस एउटा वडामा मात्र विजयी भएका थिए।

गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप राई ३ हजार १२७ मत प्राप्त गर्दै विजयी हुँदा माओवादीका राजनप्रसाद ढकाल २ हजार ६८२ मत ल्याएर दोस्रो, कांग्रेसका प्रेमकुमार राई ९६३ मत ल्याएर तेस्रो भएका थिए।

एमालेलाई फुटले केही मत काटिए पनि तत्कालीन समयमा माओवादीबाट उम्मेदवार बनेका केही नेता एमालेमा प्रवेश गरेको हुँदा एमालेको पहिलेकै अवस्थाको मतदाता रहेको नेताहरू बताउँछन्। यता माओवादीका मतदाता पहिलेको तुलनामा केही घटेको र कांग्रेस पनि उक्त पालिकामा केही कमजोर देखिएका कारण गठबन्धनलाई खोटेहाङ गाउँपालिका जित्न भने निकै मेहनत गर्नुपर्ने देखिन्छ।

खोटेहाङ गाउँपालिकामा अघिल्लो निर्वाचनमा १२ हजार ४११ मतदाता रहेकोमा अहिले बढेर १५ हजार २४५ पुगेको छ। 

जन्तेढुंगा गाउँपालिका

एमालेले आफ्नो पकड क्षेत्र मान्ने अर्को स्थानीय तह जन्तेढुंगा गाउँपालिका हो। जहाँ अघिल्लो स्थानीय तहको चुनावमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो। ६ वटा वडा रहेकोमा ४ वडामा एमाले विजयी हुँदा १-१ वडामा मात्र कांग्रेस र माओवादी विजयी भएका थिए।

गाउँपालिका अध्यक्षमा शंकरबहादुर राई २ हजार १५३ मात प्राप्त गरेर विजयी हुँदा कांग्रेसका प्रेमबहादुर खड्का १ हजार ५६२ मत पाएर दोस्रो भएका थिए। यस्तै माओवादीकी अरुणादेवी राईले १ हजार १४७ मत पाउदा तत्कालीन संघीय समाजवादी (हाल जसपा) का देवेन्द्र श्रेष्ठले ७४ मत पाएका थिए।

अघिल्लो निर्वाचनको आधारमा भन्ने हो भने आफ्नो मत जोगाउन सके गठबन्धनको जित हुने देखिन्छ। जन्तेढुंगा गाउँपालिकामा अघिल्लो निर्वाचनमा ८ हजार ३५६ मतदाता रहेकोमा अहिले बढेर १० हजार २१३ पुगेको छ। 

दिप्रुङ चुइचुम्मा गाउँपालिका

हलेसी तुवाचुङ नगरपालिकासँगै नेपाली कांग्रेसले जिल्लाको अर्को पकड क्षेत्र मान्ने स्थानीय तह दिप्रुङ चुइचुम्मा गाउँपालिका हो। अघिल्लो निर्वाचनमा कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी भएका थिए।

राईले २ हजार ९८० मत प्राप्त गरेर विजयी हुँदा एमालेका अर्जुनकुमार क्षेत्री १ हजार ८४८ मत प्राप्त गर्दै दोस्रो र माओवादीका दीपक पाण्डे १ हजार ७१५ मत पाएर तेस्रो भएका थिए।

यस्तै तत्कालीन संघीय समाजवादी (हाल जसपा) का पृथ्वीकुमार राईले ८९ मत पाएका थिए। ७ वटा वडा रहेको यस पालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको थियो भने गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसले नै विजयी भएको थियो।

आसन्न स्थानीय तहको चुनावमा कांग्रेस र एमाले यस पालिकामा एक्लाएक्लै चुनावी मैदानमा उत्रिदा अन्य तीन दलले भने तालमेल गर्नेछन्। यद्यपि अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्दा कांग्रेस नै बलियो देखिन्छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अघिल्लो निर्वाचनमा ११ हजार ६५५ मतदाता रहेकोमा अहिले बढेर १३ हजार ४३१ पुगेको छ। 

वराहपोखरी गाउँपालिका

अघिल्लो निर्वाचनमा यो गाउँपालिकाका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको थियो। ६ वटा वडा रहेकोमा ४ मा एमाले र २ वडामा कांग्रेस विजयी भएका थिए। अध्यक्षमा कांग्रेसका शालिकराम बन्जरा १ हजार ९७१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका गणेशप्रसाद कोइराला १ हजार ७३२ मत पाएर दोस्रो भएका थिए।

यस्तै माओवादीका निशना राईले ८६१ मत र तत्कालीन संघीय समाजवादी (हाल जसपा)का मोहनप्रसाद राईले २२८ मत प्राप्त गरे। त्यसो त चार दलबीच नै यस पालिकामा गठबन्धन हुँदा एमालेलाई जित्न कठिन देखिन्छ। वराहपोखरी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ७ हजार ७३७ मतदाता थिए भने अहिले बढेर ९ हजार ३६४ पुगेका छन्। 

रावाबेसी गाउँपालिका

अघिल्लो निर्वाचनमा यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो। ६ वटा वडा रहेको यो पालिकामा ३ वटा वडामा कांग्रेस, २ वटा वडामा एमाले र एउटा वडामा माओवादी विजयी भएको थियो। गाउँपालिका अध्यक्षमा एमालेका लीलानाथ निरौला  १ हजार ९०९ मत ल्याएर विजयी हुँदा कांग्रेसका जनककुमार कार्की  १ हजार ५७५ मत पाएर दोस्रो र माओवादीबाट चेत कुमारी गुरुङ ९५९ पाउँदै तेस्रो भएका थिए।

यस्तै राप्रपाका गिरिराजसिंह बस्नेतले ११४ मत पाउदा तत्कालीन नयाँ शक्ति (हाल जसपा)का मोहनकुमार गुरुङले ५४ मत पाएका थिए। 

आसन्न चुनावमा रावाबेसीमा पनि चार दलले गठबन्धन गर्ने निर्णय गरेको छ। एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादी र जसपा पार्टीको उक्त गाउँपालिकामा धेरै प्रभाव नभएको हुँदा गठबन्धन र एमालेबीचको चुनाव प्रतिस्पर्धात्मक हुनेछ।

तर अघिल्लो निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने एमालेभन्दा गठबन्धन अब्बल देखिन्छ। रावाबेँसी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ७ हजार ९८२ मतदाता थिए भने अहिले बढेर ९ हजार ६१८ पुगेका छन्।

साकेला गाउँपालिका

अघिल्लो निर्वाचनको मत परिणाम अनुसार साकेला गाउँपालिकामा माओवादी, कांग्रेस र एमालेबीच निकै कडा प्रतिस्पर्धा भएको देखिन्छ। गाउँपालिका अध्यक्षमा माओवादीबाट अध्यक्ष अर्जुनकुमार खड्काले १ हजार २० मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका इच्छु रानाले ९८५ र एमालेका आश्विनचन्द्र राईले ९५१ मत पाएका थिए।

रानाले र राईले ९५१ मत पाएका थिए भने उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो। यस्तै साकेला गाउँपालिकामा  नेकपा मालेका कुलप्रसाद फुँयालले ४३५ र तत्कालीन संघीय समाजवादी (हाल जसपा)का सनबहादुर राईले ४२६ मत पाएका थिए।

साकेला गाउँपालिकामा कांग्रेस र एमाले एक्लाएक्लै चुनाव लड्दा अन्य तीन पार्टीको भने तालमेल हुनेछ। तत्कालीन मालेबाट उम्मेदवार बनेका फुँयाल अहिले एमालेबाट फुटेर बनेको पार्टी एकीकृत समाजवादीमा छन्। त्यसो त अघिल्लो मत परिणामअनुसार कांग्रेस र एमालेभन्दा तीन दलीय गठबन्धन बलियो देखिन्छ।

५ वडा रहेको साकेलामा एमाले र कांग्रेसले २-२ वडामा जित हात पार्दा माओवादीले १ वडामा जितेको थियो। साकेला गाउँपालिकामा अघिल्लो निर्वाचनमा ६ हजार ६ ५४ मतदाता रहँदा अहिले बढेर ८ हजार ५४८ पुगेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.