|

काठमाडौं : नेकपा एमाले दोलखाले स्थानीय तहका उमेदवारहरू छनोट गर्दा सर्वसम्मत गरेको भनिएको निर्णयका विरुद्धमा बागमती प्रदेश कमिटीमा उजुरी दर्ता भएको छ।

सहमतिका नाममा जबरजस्ती एकल निर्णय लाद्न खोजिएको भन्दै भीमेश्वर नगरपालिकाका केही आकांक्षीहरूले प्रदेश कमिटी समक्ष उजुरी गरेका हुन्।  जिल्लाका ९ पालिकामा उम्मेदवारी टुंगो लगाउन वैशाख ७ गते चरिकोटमा बैठक बसी उमेदवारहरूको नाम छलफल गरिएको थियो।

छलफलमा जिल्लाका अन्य पालिकामा नयाँ उम्मेदवारहरूको नाम छनोट भएको थियो भने भीमेश्वर नगरपालिकामा वर्तमान मेयर र उपमेयरलाई नै दोहोर्‍याउने निर्णय भएको थियो।

उक्त निर्णयपश्चात पालिकामा मेयरका आकांक्षी अन्य उम्मेदवार पार्टी उपाध्यक्ष राजेन्द्र मानन्धर, नेताहरु हरिवंश चौलागाई, प्रवीण प्रधान र उपमेयरका उम्मेदवारहरू जानुका न्यौपाने, मेनुका सुवेदी, सीता केसी, रुपा शाही र पूर्णिमा खरेलले असन्तुष्टी ब्यक्त गर्दै प्रदेश कमिटीमा आज उजुरी दर्ता गरेका हुन्।

उजुरीमा पार्टीमा सामान्य छलफल गरिएको तर कतै पनि लिखित निर्णय नगरी पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जिल्ला कमिटी बैठकमा उपस्थिति मात्रै उठाएर निर्णयार्थ नाम पढेर बाहिरिएको जनाइएको छ। 

निवेदनमा अध्यक्षले एकल ढंगले नाम प्रस्ताव गरेर बाहिरिएपछि बैठकका अन्य अतिथि र सहभागीहरू अलमल परेर मूकदर्शक भइ बसेका र अनिर्णयका बन्दी हुन पुगेका उल्लेख गरिएको छ। 

निवेदनमा पार्टी केन्द्रले जारी गरेको अन्तर पार्टी निर्देशन र प्रदेश कमिटीले जारी गरेको परिपत्रको अवज्ञा गर्दै विधि प्रक्रिया मिचिएकाले भीमेश्वर नगरपालिकाको निर्णय बदर गरी न्यायोचित निर्णय गर्न माग गरिएको छ। 

उजुरीका विषयमा उपाध्यक्ष एवं मेयर प्रत्यासी राजेन्द्र मानन्धरले भने, 'नेकपा एमाले विधिसम्मत चल्ने पार्टी हो, यहाँ बैठक, सहमति, छलफल अनि निर्णय गरिन्छ। केन्द्र र प्रदेशको चेन अफ कमाण्डमा पार्टी अघि बढाइन्छ तर विधि पद्दति सबै मिचेर पार्टीलाई एकल ढंगले क्लब जसरी चलाउन खोजेपछि विरोध गरिएको हो। पार्टीलाई विधिमा चलाउन अनसन नै बस्नुपरे पनि तयार भएर आएका छौँ। मेरो उपाध्यक्ष पद कायम रहुञ्जेल म पार्टीलाई विधिमा चलाउन निरन्तर लाग्ने छु, चाहे जस्तोसुकै परिस्थितिको सामान किन गर्नु नपरोस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.