|

काठमाडौं : स्पेनिस ला-लिगामा दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा गरिरहेको बार्सिलोना र सेभिया दुबैले आ-आफ्नो खेलमा जित निकालेका छन्।

रियल सोसिडाडको घरेलु मैदानमा बार्सिलोनाको जितमा गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको एकमात्र गोल निर्णायक बन्यो। अर्को खेलमा सेभियाले लेभान्टेलाई ३-२ ले हरायो।​

क्याटलान क्लबलाई औवामियाङले ११औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोना विजयी रह्यो। घरेलु मैदानमा रियल सोसिडाडले बल पोसेसन राख्दै बार्सिलोनालाई दवाव दिएपनि गोल गर्न भने सकेन।

बार्सिलोनाले गरेका केहि राम्रा प्रहार सफल नहुँदा अग्रता बढाउने अवसर गुमाउन बार्सिलोना बाध्य भएको थियो। ४८औं मिनेटमा एलेक्सान्डर सोर्लोथले गोलको सुवर्ण अवसर गुमाउँदा घरेलु टोली बराबरीबाट चुक्यो। ५८औं मिनेटमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बार्सिलोनाको अर्को संकट टारेका थिए।

जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ६३ अंक पुगेको छ। एक खेल कम खेलेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ। समान ६३ अंक नै रहेपनि सेभिया गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ। पाँचौ स्थानमा उक्लने मौका गुमाएको पराजित सोसिडाड ५५ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ।

त्यस्तै अर्को खेलमा सेभियाले घरेलु टोली लेभान्टेलाई ३-२ ले पराजित गर्दै शीर्षचारमा रहने सम्भावना बलियो बनायो। सेभियाको जितमा जेसस कोरोनाले दुई तथा जुलेस कुन्डेले एक गोल गरे। घरेलु टोली लेभान्टेका जोस लुइस मोरालेस र रोबर्टो सोल्डाडोले समान एक गोल गरे। जोस लुइस मोरालेस पेनाल्टीमा चुक्दा लेभान्टे पनि बराबरीबाट चुक्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.