|

बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुर्चाैडी नगरपालिका अतिसंवेदनशील पालिकाको रूपमा रहेको छ। जिल्लामा रहेका १० स्थानीय तहमध्ये सुरक्षाको हिसाबले पुर्चाैडी अति संवेदनशील पालिकाको रूपमा रहेको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार संवेदनशील पालिकाका रूपमा चारवटा पालिका रहेका छन्। सिगास, पञ्चेश्वर, सुर्नया र डिलाशैनी गाउँपालिका संवेदनशील पालिकाको रूपमा रहेका हुन्।

यसैगरी कम संवेदनशील पालिकाको रूपमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिका रहेका छन्।

यसैबीच बैतडीका १२९ मतदानस्थलमध्ये ३१ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई वर्गीकरण गरेअनुसार यहाँका ३१ मतदानस्थल अति संवेदनशील राखिएका हुन्।

जिल्लामा रहेका १२९ मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार जिल्लाका अन्य ३४ मतदानस्थल संवेदनशील र ६४ ओटा मतदानस्थल कम संवेदनशील सूचीमा रहेका छन्।

केन्द्र विवाद, विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो।

मतदान केन्द्र, मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको सूचना अधिकारी भारतीको भनाइ छ।

उनले भने, ‘मतदानस्थलको संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइरहेका छौं। त्यहीअनुसार सुरक्षानिकाय परिचालन हुनेछन्। सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको काम समेत भइरहेको छ।’

अति संवेदनशीलमा कम्तीमा ११, संवेदनशीलमा कम्तीमा ९ र कम संवेदनशीलमा कम्तीमा ८ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।

१० वटा स्थानीय तह रहेको बैतडीमा २०५ वटा मतदान केन्द्र रहेका छन्। जिल्लामा १ लाख ४८ हजार ६०६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ दल दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.