अनुगमन र कारबाहीको व्यापक तयारी

|

काठमाडौं: निर्वाचन आयोगले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गर्दै निर्वाचन सम्पन्न गर्न सबै प्रकारका तयारी लगभग अन्तिम चरणमा पुगेको स्पष्ट गरेको छ। 

तयारीका सिलसिलामा आज शुक्रबारसम्म १ करोड २८ लाख मतपत्र छापिइसकेको पनि आयोगका पदाधिकारीले केही सञ्चार माध्यमका सम्पादकहरूसँग बताए। सम्पादकहरूसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका साथै सबै आयुक्त एवं आयोगका सम्बन्धित विभागीय कर्मचारी सहभागी थिए।

निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्ने भएको छ। मूलधारका संचारमाध्यम र मूलत: सामाजिक सञ्जालका माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न प्रेस काउन्सिलसँग र विज्ञापनका माध्यमबाट हुने उल्लंघन अनुगमनका लागि विज्ञापन बोर्डसँग सहकार्य गरिने आयोगले जानकारी दिएको छ।

भारतीय सीमा क्षेत्रमा रेडियो र एफएममार्फत हुने आचारसंहिता उल्लङ्घनलाई पनि नियमन गरिने आयोगले जनाएको छ। 

आचारसंहिता विपरीत सञ्चार सामग्रीको प्रचार प्रसार गरिएको पाइए जुन उम्मेदवारको सामग्री हो, उसैलाई जिम्मेवार बनाउने तयारी आयोगले गरेको छ।

कार्यक्रममा अधिकांश पत्रकारले आयोगलाई नियन्त्रणमुखी नभइ सूचना सम्प्रेषणमा अग्रसर हुन आग्रह गरेका थिए।

स्थानीय तहको निर्वाचनमा आयोगले १० वटा स्थानीय तहमा गोप्य निगरानी एवं अनुसन्धानका लागि टोली खटाउने भएको छ।

यसैगरी २५ स्थानीय तहमा विशेष टोली खटाएर उम्मेदवारले गर्ने खर्चसमेत निगरानी गरिने आयोगले जनाएको छ। आयोगले दिएको जानकारी अनुसार छ वटा महानगरपालिका र चार वटा उपमहानगरपालिकामा त्यस्तो निगरानी गर्न अनुसन्धान टोली खटाइनेछ। सो कामका लागि सरकारी संस्था नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गरिनेछ।  

मुलुकभरका ११ उपमहानगरमध्ये चार वटामा त्यस्तो टोली खटाउने तयारी गरेको छ। तर तिनको छनोट हुन भने बाँकी नै छ।

यसरी खटिने अनुसन्धानकर्ताले त्यहाँ हुन सक्ने आचारसंहिता उल्लंघन, मतदाता प्रभावित पार्ने गतिविधि र निर्वाचन सुरक्षासँग जोडिएका विषयमा आयोगलाई गोप्य रुपले रिपोर्ट गर्ने र ठाउँको ठाउँ कारबाही पनि गर्नेछन्।

आयोगले सुरक्षा जोखिमको अवस्था हेरेर सुरक्षा निकायसँगको सहकार्यमा २५ वटा स्थानीय निकायमा गोप्य निगरानी पनि गर्ने भएको छ।

छलफलको अन्त्यमा प्रमुख आयुक्त थपलियाले ठट्यौलो शैलीमा भने- 'अब हामी एकैचोटी देशभर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको सन्देश लिएर तपाइँहरु माझ बैशाख ३० गते साँझ उपस्थित हुनेछौं भनेपछि कुरा बुझि हाल्नु भो नि !' 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.