|

 काठमाडौं : निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ। 

आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ।

अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउनका लागि आयोगमा निवेदन आइरहेको भन्दै मतदाता नामावली ऐन, २०७३ अनुसार अन्तिम प्रकाशनपछि थपघट गर्न वा सच्याउन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ। साथै, मतदाता नामावली हेरफेर तथा थपघट गर्ने कार्य नितान्त आयोगको क्षेत्राधिकारभित्र रहेको भन्दै यस बारेमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने कानुनी व्यवस्था रहेको समेत आयोगले स्मरण गराएको छ।

आयोगले स्थानीय तहको निर्वाचन सकिएपछि मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुचारु गरिने पनि जानकारी दिएको छ। सो समयमा मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेकाले सम्बन्धित निर्वाचन कार्यालयमा गई सच्याउन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

सरकारले स्थानीय तहको निर्वाचन मिति २०७९ वैशाख ३० गतेका लागि घोषणा गरे लगत्तै आयोगले गत माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरेको थियो। 

मतदाता नामावली अद्यावधिक गर्नका लागि गत फागुन १९ गतेदेखि २६ गतेसम्म समय आयोगले दिएको थियो। सो समयमा नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामावली भएको हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको हटाउन निवेदन दिने, एकै वडामा दुइ वा दुई भन्दा बढी मतदान स्थल भएमा पायक पर्ने मतदान स्थलमा नाम सार्ने लगायतका कार्यक्रम सञ्चालन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.