|

सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका डोल्पामा नेकपा (माओवादी केन्द्र)बाट दिल बहादुर बिष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उनले कांग्रेस परित्याग गरेको एक घण्टा भित्र टिकट पाएका हुन्।

सयौँ नेता कार्यकर्ता र शुभचिन्तक सहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिकामा पुगेर नेता बिष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

शनिवार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्य समेत नरहने गरी राजीनामा गरेका बिष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए।

नेता बिष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक, केन्द्रीय सदस्य काली चलाउने, प्रदेश सभा सदस्य वीरबहादुर शाही लगायतले स्वागत गरेका हुन्।

प्रवेश कार्यक्रममा बोल्दै नेता बिष्टले कांग्रेस सामन्तवाद र पूँजीपति वर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गरे।

लामो समय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठूलो त्याग, तपस्या, बलिदान, संघर्ष गर्दै आएपनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उनले बताए।

नेता बिष्ट जनमत भएका प्रभावशाली नेताको रुपमा परिचित छन्। पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोगेका बिष्ट विगत २९ बर्ष देखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिका खेल्दै आएका थिए।

विसं २०५२ सालमा कांग्रेस पार्टी सभापति समेत भएका थिए।

बिष्टकी श्रीमती दिलमाया बिष्टले पनि महिला संघ जिल्ला अध्यक्षबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेकी छन्।

नेता कार्यकर्ताको दवाव भएकाले उम्मेदवारी दिनुका साथै आफ्नो जीत सुनिश्चित भएको बिष्टले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.