६३ जिल्लाका एक करोड ५४ लाख मतपत्र छापेर सकियो

|

काठमाडौं : निर्वाचन आयोगले भक्तपुरसहित ६ महानगरको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि डिजाइन गर्दा पनि तात्विक फरक नपर्ने स्पष्ट पारेको छ।

आयोगले  मतपत्र छपाइ सम्बन्धमा  केही राजनीतिक दलको माग र भनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै मतपत्र छपाई, रुजु सर्टिङ र प्याकिङ गर्न ३५ देखि ४० दिन लाग्ने र मतपत्र ढुवानीको लागि कम्तीमा एक साता लाग्ने स्पष्ट पारेको छ। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हिजो सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनी सार्वजनिक निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको थियो। 

एउटै कागजको सिटमा ६ वटा मतपत्र छाप्नु पर्दा मतपत्रको कुनै कोठा खाली राख्न वा राजनीतिक दलहरूको निर्वाचन चिन्हको क्रम तलमाथि गर्न नमिल्ने भएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्रको डिजाइन गर्दा मतपत्रको आकारमा तात्विक फरक नपर्ने आयोगले जनाएको छ। 

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई वितरण गरिएको निर्वाचन चिन्ह मात्र राखी मतपत्र छपाइ गर्नु उचित भएपनि सबै स्थानीय तहका ६ हजार ७४३ वडाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गरी निर्धारित समयमा ढुवानी गर्न व्यवहारिक तथा प्राविधिक दृष्टिले असम्भव हुने भनेको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तीमा आगामी दिनमा स्थानीय चुनावमा प्रयोग हुने मतपत्र सानो आकारको बनाइ मतदाता मैत्री बनाउन र उम्मेदवारको चिन्ह मात्र रहेको मतपत्रबाट निर्वाचन गर्न इलेक्ट्रोनिक भोटिङ मेसिनको आधारमा निर्वाचन गर्न सबै राजनीतिक दल तथा सरोकारवाला सबैको सहयोग हुने अपेक्षा आयोगले गरेको भनिएको छ। 

आइतबार साँझसम्ममा ६३ जिल्लाको एक करोड ५४ लाख ६० हजार मतपत्र छपाई सकिएको पनि आयोगले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.