मनोनयन गराउनेको संख्या १ लाख ४७ हजार नाघ्यो

|

काठमाडौं : स्थानीय तह निर्वाचन तालिका अनुसार आज उम्मेदवार विरुद्ध दाबी विरोध गर्ने दिन हो।

आइतबार र सोमबार दुई दिन उम्मेदवारी दर्ता गराएको आयोगले आज उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरी उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी लिने कार्यतालिका छ। 

तर आयोगले अझै उम्मेदवारको प्रारम्भिक संख्या टुंगो लगाउन सकेको छैन । उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिए पनि एकै दिन ठूलो संख्यामा उम्मेदवारी परेपछि आयोग अझै उम्मेदवारको नामावली प्रविष्ट गरिरहेको छ। 

स्रोतका अनुसार केही प्राविधिक कठिनाई र विवादका कारण नामावली टुंग्याउन समस्या परेको हो। 'कतिपय ठाउँमा उम्मेदवार नै अर्काको प्रस्तावक/समर्थक बसेको अवस्था छ, कतिपय ठाउँमा दोहोरो उम्मेदवार परेका छन्।' स्रोतले भन्यो, 'दलहरुले यो मिलाउनुपर्यो, त्यो मिलाउनुपर्यो भनेर थप अल्मल्याइरहेकाले ढिलो भएको छ।'

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अब लगभग अन्तिम चरणमा पुगेको बताए। उम्मेदवारको नामावली सम्बन्धित निर्वाचन अधिकृतकै कार्यालयले प्रकाशन गर्ने हो उनले भने, 'हामीले उम्मेदवारको कूल संख्या केहीबेरमा फाइनल गर्छौं। '

आयोगले दिउँसो सवा ३ बजे सार्वजनिक गरेको विवरण अनुसार उम्मेदवार मनोनयन गराउनेको संख्या १ लाख ४७ हजार २ सय ७४ पुगेको छ।

जसमध्ये नगर प्रमुखमा ३ हजार ४ सय ३० र पालिका अध्यक्षमा ३ हजार ३ सय ३६ रहेको छ। 

नगर उपप्रमुखमा २ हजार ९७ र पालिका उपाध्यक्षमा २ हजार ३ सय ८२ जनाको उम्मेदवारी परेको छ। वडा अध्यक्षका लागि ३४ हजार ३ सय ५७ जनाले मनोनयन गराएका आयोगले जनाएको छ। वडाको महिला सदस्यका लागि २५ हजार ३ सय ४५, दलित महिला सदस्यका लागि २२ हजार ८ सय ९९ र दुई सदस्यका लागि ५३ हजार ४ सय १ जनाको मनोनयन परेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.