|

कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु भएको छ। सरकारले जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा तयारी थालिएको हो। 

प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ। आयोजक गण्डकीले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ। 

प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। ‘सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्नेगरी राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पठाएका छौँ’, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले भने, ‘खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षणलगायत पक्षलाई हेरेर प्रस्ताव पठाएका छौँ।’

केन्द्रको प्राविधिक टोलीले प्रस्तावितस्थलको अनुगमन सुरु गरिसकेको छ। केही दिनमै प्रस्तावितस्थलमा नै राखेपले खेल सञ्चालनको तालिका बनाउने बताइएको छ। प्रतियोगिताको तयारी र पूर्वाधारबारे जानकारी लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायत बुधबार पोखरा आउने समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङको महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन्। यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ।

महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेबलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ । 

बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आईटीएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाएको समितिले जनाएको छ। यो वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ। 

राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपबाट १६ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.