|
फाइल फोटो

काठमाडौं : जिल्लाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा सल्किएको आगो नियन्त्रणमा आएको छ। अस्ति सोमबार साँझदेखि लागेको आगो बुधबार बिहानबाट नियन्त्रणमा आएको निकुन्जका चिफ वार्डेन लक्ष्मण पौडेलले जानकारी दिए।

मंगलबार बिहान नियन्त्रणमा आए जस्तो देखिए पनि दिउँसोबाट आगो झन् फैलन थालेपछि हेलिकप्टरबाट त्यहाँ आगो निभाइएको थियो।

आगो निभाउन नेपाली सेना, नेपाल  प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसँगै स्थानीयसमेत खटिएका थिए। सबैको प्रयासमा डढेलो नियन्त्रणमा आउन सफल भएको पौडेलको भनाइ छ।

निकुन्जसँगै आसपासका जंगलमा पनि डढेलो सल्किएको थियो। आसपासको पन्चकन्या सामुदायिक वनमा समेत लागेको आगो बिहान नै नियन्त्रणमा आएको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले जनाएको छ।

तारेभिर नजिकै सुन्ताखान र कौडेल नजिकको जंगलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। हिजो मंगलबार मात्रै पन्चकन्या सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको थियो। आगलागी नियन्त्रणका लागि मंगलबार ठाउँ-ठाउँमा अग्नि रेखा कोरिएको थियो। निकुन्जका वार्डेन पौडेलका अनुसार क्षतिको विवरण लिने काम सुरु भएको छ।

निकुन्जको करिब ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो। काठमाडौं शहरबाट नजिक रहेको यो निकुन्ज पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको छ। यहाँ ३१८ किसिमका चरा, १०२ किसिमका पुतली र १२९ किसिमका च्याउ पाइन्छन्।

यहाँ दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लंगुर लगायत विभिन्न जङ्गली जनावरहरू पनि पाइने निकुञ्जले जनाएको छ। यस निकुञ्जमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन्।

बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन्। नववर्षको प्रारम्भमा उपत्यका तथा वरपरका श्रद्धालुहरू बागमती तथा विष्णुमतीको उद्गमस्थल बागद्वार र विष्णुपादुकामा आई स्नान तथा पूजाआजा गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.