|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।

‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौँडाका हाकिम हटाए झैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रोपटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ’, उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आज (बिहीबार) देखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रुष्ट थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई पार्टीबाट निष्काशित गरेको थियो। २०७४ को निर्वाचनमा उनी डडेल्धुरा प्रदेशसभा ‘ख’ बाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए।

कांग्रेससँग तालमेल गर्ने संकेत ?
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले नेपाली कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करुवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्।

शेरबहादुर देउवाले मिलौँ भनेपछि गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करुवा र रूख चुनाव चिह्नबीच तालमेल गराए आफ्ना लागि सर्वस्वीकार्य हुने बताएका हुन्।

उनले आफूहरूको प्रमुख माग अमरगढीका मेयर हरिप्रसाद भट्ट रहेको समेत बताए। उनले कांग्रेस सभापति भीमबहादुर साउदसँग आफूले कुरा गरेको बताउँदै शेरबहादुर दाइसँग कुरा गरेर आएको भए अमरगढीको मेयरको टिकट हरि भट्टलाई दिनु भन्ने माग राखेको बताए।

उनले साउदसँग नवदुर्गा गाउँपालिकाको अध्यक्षको टिकट गोकुल शाहीलाई दिए सबै कुरा बिर्सिदिने माग समेत राखेको बताए तर साउदले यो कुरा नमानेको उनको कथन छ।

मल्लको यो भनाइले मल्ल पक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ। २ भागमा बाँडिएको नेपाली कांग्रेस डडेल्धुराको मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलादेखि रुष्ट बनेको मल्ल समूहले कांग्रेस (बिपी)बाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो। जसअनुसार दुवै पक्षले तालमेल गरेर जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.