|

काठमाडौं : सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएकी छन्।

बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेको बताएकी हुन्।

महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफूले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उनले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताइन्।

उनले भनिन्,  ‘म सबैभन्दा पहिला केबाट सुरु गर्न चाहन्छु भने, मेयर भनेको काठमाडौंको एकदमै ठूलो पद हो। मेयर हुँदै गर्दाखेरि मैले भन्नैपर्छ, म मेयर भइसकेपछि सबैभन्दा म सुशासनतर्फ मेरो ध्यान केन्द्रित हुनेछ' उनले थपिन्, 'म मेयर भएपछि सबैभन्दा पहिला मैले महानगरभित्र भ्रष्टाचारमुक्त सेवा र सुविधा तुरुन्त हुने गरेर चुस्त र दुरुस्त पार्नेछु।’

उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेकी छन्। संकल्प पत्र सार्वजनिक गर्दै उनले महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने बताइन्।

भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उनको प्रतिबद्धता छ। त्यसैगरी सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुन:स्थापनासहितको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उनले उल्लेख गरिन्।

विशेष कार्यक्रमको योजना

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनको भनाइ छ। सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गरिने।

पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उनले बताइन्। सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुन:स्थापना तथा विस्तार गरिने उनको भनाइ छ।

त्यस्तैगरी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिँडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उनको संकल्प छ।

विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने उनले बताइन्।

संस्कृतिलाई पर्यटनसँग जोड्ने

सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटनसँग जोड्ने उल्लेख गरिन्। गुठी प्रणालीको संरक्षण र प्रवद्र्धन गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहेको पनि स्पष्ट पारिन्। उनले सहज रुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित शहरका बनाउने बताइन्।

पूर्वाधार निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उनको भनाइ छ। महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गरिने उनले उल्लेख गरिन्।

त्यसैगरी, युवाका लागि अवसर, महिलाको सशक्तिकरण र महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्ने उनको प्रतिवद्धता छ। उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उनले बताइन्। उनले सुकुम्बासीको समस्या समाधान गर्ने पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.