|

काठमाडौं : काठमाडौं उपत्यकामा ‘क्यूआर कोड'काे प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडकाे सहकार्यमा यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो।

सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौँतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता हटेकाे छ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे उपर सेवाग्राहीले आफ्नो डिजिटल वालेट वा मोवाईल बैंकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमा देखिएको क्यू आर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरी सकेपछि तुरुन्तै आफ्नो कागजपत्र लिन सकिने बताए।

उनले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्ताहरूलाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गरे।

कुमारी बैंङ्कका डिजिटल बैङ्किङ प्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा धेरै खुसी भएको व्यक्त गर्दै यस व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पारी सहकार्य गर्दै जाने जनाए।

यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ।

यस अघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना रकम अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भईसकेको र त्यस प्रणालीलाई थप समयानुकूल प्रभावकारी बनाउन याे सेवा सुरु गरिएकाे हाे।

कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैङ्कका पदाधिकारीहरूको उपस्थिति थियो 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.