|

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन्।

बिहीवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।

प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रित गर्न सकिने भन्दै उनले अब प्राधिकरण बनाउन लागि पर्ने बताए।

उनले सरकार र सत्तारुढ गठबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रित गराउने दाबी गरे।

उनले भने,‘यातायात क्षेत्रको विकासको निम्ति आवश्यक पर्ने कुरा हाम्रो यातायात मन्त्रालय नै अलग्गै भएपछि मात्रै यसैमा फोकस भएर काम गर्न सकिन्थ्यो । तर, हाम्रो राज्यको अहिलेकाे स्थिति तत्काल यातायात मन्त्रालय अलग्गै बनाउन सकिने हैसियतमा पुगेको देखिँदैन। म तपाईंहरुको अगाडि के विश्वास दिलाउन चाहन्छु भने प्राधिकरण बनाउने कुरामा अब सरकारलाई, गठबन्धनलाई मुख्य रुपमा अगाडि बढाउनेमा मेरो पुरै ध्यान, शक्ति लाग्नेछ।’

अध्यक्ष दाहालले गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको बताए। गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने उनकाे भनाई छ।

यसको लागि नीतिगत निर्णय गरेर कार्यान्वयन गराउने सम्बन्धमा शुक्रबार बिहान बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उनले प्रतिवद्धता जनाए।

उनले यातायात व्यवसायी, यातायात मजदूर र राज्य तीनवटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। यातायात क्षेत्रमा देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट सधैँभरी भूमिका खेल्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.