नेपाल पर्यटन बोर्ड र एफएनसिसिआईबीच सहकार्य गर्न सहमति

|

काठमाडौं : मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपछि दुवै संस्था मिलेर पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। महासंघको सचिवालय काठमाडौंमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा ​धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।

समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तिनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तरराष्ट्रिय र आन्तरिक विमानस्थलको सौन्दर्यीकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ। त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तरराष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादन (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधि) हरूमा सहकार्य हुनेछ। 

बोर्डका कार्यकारी डा रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताए। उनले महासंघले लिएको पहल सकारात्मक भएको भन्दै यसको लागि बोर्ड मिलेर काम गर्न सधैँ तयार रहेको धारणा राखे। ‘खासमा पर्यटन प्रवर्द्धनका लागि बोर्डका आफ्ना कार्यक्रमहरू पनि रहेका छन्। पर्यटनसँग सम्बन्धित अन्य कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई पनि सँगै लैजान सकिन्छ,’ उनले भने।

उनले नेपालको क्रस बोर्डर पर्यटन प्रवर्द्धनका लागि बोर्डले नेपालगञ्ज, धरान र धनगढीमा पर्यटन मेला तथा मार्टहरु सञ्चालन गरिसकेको बताउँदै बोर्डले सीमा क्षेत्रका भारतीय पर्यटक ल्याउने गरी काम गरिरहेको जानकारी दिए।  

महासंघका अध्यक्ष गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आबद्ध सबै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद् कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोहीअनुसार अगाडि बढ्नुुपर्नेमा जोड दिए।

‘पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारीसाधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको छ। नेपालले गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नु पर्छ। यसमा मिलेर काम गर्दा राम्रो परिणाम आउँछ भन्ने विश्वास छ‚’ उनले भने। उनले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटनलक्षित विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक रहको धारणा राखे। अध्यक्ष गोल्छाले छिट्टै नेपाल-भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरूमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि सँगै लैजान सकिने बताए। 

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले दुवै संस्थाबीचको सहकार्य सकारात्मक भएको उल्लेख गर्दै यसबाट नेपालको पर्यटनमा नयाँ सन्देश प्रभाह हुने बताइन्। महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताइन्।

महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिबद्धता जनाए। सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स नाटाका अध्यक्ष रमेश थापा, पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.