|

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट ‘बागी’ उम्मेदवारी दिएका विमल कार्कीले चुनाव चिन्ह ‘लालटिन’ पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको हो।

राजनीतिक दलहरूको काम चित्त नबुझेकाे र उनीहरूको आदेशलाई अटेर गर्दै सुरु भएको ‘अटेरी अभियान’ का गणेश पौडेलले चुनाव चिन्ह ‘लौरो’ पाउँदा कांग्रेसबाट गठबन्धनकै ‘बागी’ उम्मेदवार बनेका कार्कीले ‘लालटिन’ चिन्ह पाएका हुन्।

पोखरा महानगरपालिकाको प्रमुख बन्नका लागि कांग्रेसबाट तीन जनाको ‘बागी’ उम्मेदवारी परेको थियो। जसमध्येका नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले भने शुक्रवार नै उम्मेदवारी फिर्ता लिइसकेका छन्। 

कार्कीले भने कांग्रेसका कार्यकर्ताहरूले अन्य दलको चुनाव चिन्हमा भोट हाल्न नहुने, पार्टीको नेतृत्वले कांग्रेसको राजनीति बिगारेको भन्दै ‘बागी’ उम्मेदवारी दिएका थिए।

पोखरा महानगरपालिकामा कांग्रेसको पक्षमा जनमत हुँदा हुँदै पनि गठबन्धनको संयन्त्रले थोरै जनमत भएको नेकपा एकीकृत समाजवादीलाई टिकट दिएकोमा विरोध गर्दै आइरहेका छन्।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य साझा उम्मेदवार रहेका छन्।

गठबन्धनको केन्द्रीय संयन्त्रले आचार्यलाई टिकट दिएको भए पनि कास्कीका नेता कार्यकर्ताहरूले त्यसको अझै पनि विरोध गरिरहेका छन्। त्यसको फलस्वरूप गठबन्धनकै ठूलो दल कांग्रेसबाट तीन जनाको ‘बागी’ उम्मेदवारी परेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.