|

विराटनगर : आज मे १ अर्थात् अन्तरराष्ट्रिय मजदुर दिवस। विश्वभरका मजदुरले आजका दिनलाई श्रमिकहरूको बलिदानपूर्ण संघर्षले पाएको हक, अधिकारलाई स्मरण गरेर मनाउँदै आइरहेका छन्। नेपालमा पनि १३३ औँ श्रमिक दिवस विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छन्।

विराटनगर–५ रामपुरका सूर्यनारायण पासवानलाई मजदुर दिवसले खासै छोएको छैन। दिनभर पसिना बगाएर साँझबिहान छाक टार्ने उनलाई आज श्रमिक दिवस हो भन्ने समेत पत्तो छैन। उनी आफू पढेलेखेको नभएको र सरकारी कर्मचारी पनि नभएकाले आज श्रमिक दिवस हो भन्ने आफूलाई थाहै नभएको बताउँछन्।

दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसा नै परिवारको भरथेग रहेको बताउने उनी ३ दशकदेखि ज्याला मजदुरी गर्दै आएका छन्। उनको कमाइबाट पाँचजनाको परिवार चलिरहेको छ।

‘दिनभर कमाएर साँझ खानुपर्छ‚ हामीलाई के मजदुर दिवसले छुन्छ ?’, उनी भन्छन्, ‘मलाई थाहा थिएन मजदुर दिवस भनेर। हामी सरकारी मान्छे पनि होइन। काम गर्नै पर्‍यो, परिवार पाल्नुपर्छ।’

मजदुर दिवस पत्तो नभए पनि उनी पछिल्लो समयको राजनीतिक घटना क्रमसँग भने राम्रै परिचित छन्। आफूहरूले रोजेर पठाएका जनप्रतिनिधिबाट निराश भएको बताउँदै उनी नेताहरूले भोटका लागि मजदुरहरूलाई ठूल्ठूला सपना मात्रै देखाउने गरेको बताउँछन्। यो निर्वाचनमा ठूला आश्वासन देखाउनेभन्दा पनि काम गर्नेलाई भोट दिने विचार रहेको उनी बताउँछन्।

४० वर्षदेखि खोलासँग साइनो जोडेका बेलबारीका श्रवण ऋषिदेवको आजको दिन खोलामा बालुवा चालेरै बित्यो। खोलाको बालुवाले ४ दशकदेखि उनको परिवारको लालनपालनमा टेवा पुर्‍याएको छ। एक दिन खोला नधाए कमाइ कम हुने बताउने उनलाई पनि श्रमिक दिवसले छोएको छैन। आफूसहित पाँचजना परिवारको भोक टार्न खोलाको किनारमा बालुवाको तातो रापसँग जुधिरहेका उनलाई मजदुर दिवस किन मनाइन्छ भन्ने समेत जानकार छैन।

‘यही कमाइबाट ५ जनाको परिवार पाल्नुपर्छ। श्रीमती आँखा देख्दिनन्, कोही छोरा भारत पुगेका छन्, म घर बसेँ भने अरू कसले कमाउँछ?’, उनी भन्छन्, ‘दिनमा ९ सय रुपैयाँ हुन्छ‚ यो कमाइमा म खासै खुशी छैन तर अरू काम पनि त छैन’। मलाई काम थाहा छ, यो मजदुर दिवस किन मनाइन्छ थाहा छैन।’

सन १९९० देखि विश्वभरिका श्रमिकले आफूहरूको जित भएको दिनको स्मरण गर्दै मे १ लाई विजयोत्सव मनाउन शुरुवात गरिएको थियो।

यो वर्ष मे दिवस मनाउँदै गर्दा देश स्थानीय तह निर्वाचनको सँघारमा छ। उम्मेदवारहरू आफ्नो प्रतिबद्धता लिएर जनताको घरदैलोमा पुगेका छन्। समयसँगै नेतृत्व फेरिए, कोही दोहोरिए तर जनतासँग प्रतिबद्धता जनाउने र मत माग्ने शैली भने नफेरिएको रिपोर्टिङका क्रममा भेटिएका मजदुरहरू बताउँछन्।








 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.