|

जनकपुरधाम : आफ्नो चुनाव चिन्ह नदेखेपछि जनकपुरधामका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्।

निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि उनी धर्नामा बसेका हुन्।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि सोमबार धर्नामा बसेका  छन्।

साह जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन्। उनले २४ घण्टाभित्र नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह समावेश गर्न माग गरेका थिए। उक्त समयमा आफ्नो चुनाव चिन्ह समावेश नगरिएकाले धर्नामा बस्नुपरेको उनले बताए।

'यो सामान्य त्रुटि होइन मेरो उम्मेदवारीलाई ओझेलमा पार्ने षड्यन्त्र पनि हुन सक्छ।', उनले भने।

चुनावी प्रचारप्रसार जारी रहेको समयमा नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह नहुँदा मतदातालाई सम्झाउन गाह्रो भइरहेको  साहले बताए।

आयोगले यो त्रुटिपूर्ण नमुना मतपत्र अविलम्ब नसच्याएसम्म आफू धर्ना जारी राख्ने  साहले चेतावनी दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि जम्मा २८ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।

जनकपुरधामका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो समस्या समाधानका लागि आफूले आयोगको सचिव, आयुक्त तथा सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइसकेको बताए।

नमुना मतपत्र चाँडै सच्याइने उनले बताए।

उनले भने, ‘यो त्रुटि मनोजजीको हकमा मात्रै हाेइन, जनकपुरधाममा २८ जना मेयर पदका लागि स्वतन्त्र उम्मेदवारहरु छन्। १२ जना बाहेक सबैमा यो समस्या रहेकोे छ। पुतलीदेखि जेब्रासम्म जम्मा १२ वटा चिन्ह थियो, अहिले जनकपुरधामलाई प्राथमिकतामा राखेर सच्याउने काम भइरहेको छ र यसभन्दा बढी म केही भन्न सक्दिनँ,’ प्याकुरेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.