|

विराटनगर : विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता जनाएकी छन्।

माओवादी केन्द्रबाट विद्रोह गरेर उम्मेदवारी दिएकी न्यौपानेले सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगरपालिकाको गाडीसमेत प्रयोग नगर्ने बताउँदै आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता जनाएकी हुन्।

उनले चुनाव जितेपछि नगरपालिकाले दिने सेवा सुविधासमेत नलिने घोषणा गरेकी छन्।  आफ्नै निजी  गाडी प्रयोग गर्ने बताउँदै उनले भनिन्, ‘गाडीमा पेट्रोलसमेत नगरपालिकाको प्रयोग गर्दिनँ।’

महानगरपालिकाको कुनै पनि सेवासुविधा, तलब–भत्ता नलिने र महानगरलाई राजनीतिक भर्ती केन्द्र हुनबाट मुक्त बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको न्यौपानेले बताइन्।

विराटनगर महानगरपालिकामा बेतथितिहरूको चाङ रहेको बताउँदै  उनले भनिन्, ‘विराटनगर महानगर राजनीतिक भर्ती केन्द्र बनेको  छ, बेथिति रोक्ने मेरो पहिलो काम हुनेछ।’

सविधानले नै प्रमुख तथा उप-प्रमुखमध्ये १ जना महिलालाई अनिवार्य गरे पनि गठबन्धन गर्दा महिलाको प्रतिनिधित्व घट्ने भएकाले उम्मेदवारी दिएको उनले बताइन्। न्यौपानेले पार्टी परित्याग गरेको समेत बताएकी छन्। विराटनगरमा पुरुषभन्दा महिला मतदाता धेरै हुँदा पनि दलहरूले महिलालाई बेवास्ता गरेको उनको आरोप छ।

५५ प्रतिशत महिला मतदाता रहेको विराटनगरमा प्रमुख तथा उप-प्रमुखमा महिलालाई स्थान नदिएको बताउँदै उनले भनिन्, ‘दलहरूले महिलामाथि भेदभाव गरेपछि उम्मेदवारी दिएकी हुँ।’

०७४ सालको चुनावमा उप-मेयरमा कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १  सय ४६ मत ल्याउँदा न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन्। गत चुनावमा १९ हजार मत बदर हुँदा आफूले हार बेहोर्नु परेको दाबी उनले गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.