|

धनकुटा : सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले देशभर गठबन्धन गर्ने निर्णय गरेसँगै धनकुटामा पनि गठबन्धन भएको छ।

केन्द्रीय नेतृत्वको निर्णय अगावै धनकुटाका सत्ता गठबन्धनले जिल्लाका ७ वटै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरिसकेका थिए। ०७४ सालको स्थानीय तहको निर्वाचनलाई आधार बनाएर धनकुटामा गठबन्धन दलले तालमेल गरेर जाने निर्णय गरेका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो। त्यसकारण पनि धनकुटामा सत्ताधारी दलहरुले गठबन्धन गर्ने निर्णय गरेका हुन्।

देश संघीय संरचनामा जानुअघि पनि धनकुटाका तत्कालीन गाउँ विकास समितिहरुमा पनि एमालेले बर्चस्व राख्दै आएको थियो।

देशभर स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच रस्साकस्सी हुने देखिएको छ। जिल्लामा गठबन्धनका कारण एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन देखिन्छ।

२०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम एकै ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुने आँकलन छ।

अझ एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले एमालेको मत काट्ने सम्भावना भएका कारण पनि गठबन्धन निकै बलियो हुने अनुमान धेरैको छ। एमालेको फुटपछि २०४९ मा एमालेबाट तत्कालीन जिल्ला विकास समितिका सभापति धर्मराज पौडेल, पूर्व सांसद दुर्गा लिंखा लगायत जिल्लास्तरीय नेता कार्यकर्तासमेत एकीकृत समाजवादीमा छन्।

जिल्लाका लोकप्रिय र प्रभावशाली नेता समाजवादीमा गएपछि एमाले ७ वटै स्थानीय तहमा कमजोर भएको बताइन्छ।

गठबन्धनको चुनाव जित्ने आधार के छ?

गठबन्धनले ०७४ को स्थानीय तह निर्वाचनमा सबै पार्टीले ल्याएको मतकाे आधार नै यसपटकको आधार भएको दावी गरेको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी मिलेर गठबन्धन बनाएका कारण पनि चुनाव जित्ने दावी गरिएकाे छ।

गएको निर्वाचनमा पराजय भएकै कारण धनकुटा पछि परेकोले गठबन्धनको आवश्यकता जनताले महशुस गरेको कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए। धनकुटा जिल्लामा ५ वर्षअघि चुनिएर आएका जनप्रतिनिधिले केही गरेनन्। धनकुटाकाे विकासमा गुमेको साख फर्काउने काम गठबन्धनले गर्ने उनले बताए।

राईले भने, ‘धनकुटाको समृद्धिका लागि नयाँ योजना ल्याइने छ।’ अवसर पाउँदा मुलुक र जनताका लागि केही पनि गर्न सक्दैन भन्ने छाप एमालेले जनतामा छोडेकोले गठबन्धनलाई सजिलो भएको उनको भनाइ छ।

सातै तह हामी जित्नेछौँ : एमाले

नेकपा एमालेले वैशाख ३० पछि धनकुटाका सबै स्थानीय तहमा नेतृत्वमा आफूहरु पुग्ने दाबी गरेको छ। ०७४ सालको स्थानीय निर्वाचनमा सबै स्थानीय तहको नेतृत्व गरेकाले एमालेले यसपटक पनि बाजी मार्ने दावी गरेको हो।

एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले धनकुटामा एमालेको विरासत कहिल्यै नढल्ने बताए। सत्तारुढ दलहरु गठबन्धन गरेर एमाले विरुद्ध उभिए पनि जनताको साथ एमालेलाई भएको उनले बताए।

०७४ को स्थानीय चुनाव जितेर सबैको विश्वास जितेकाले अब धनकुटामा चुनाव सजिलो भएको अध्यक्ष पराजुलीले बताए।

गएका ५ वर्षमा धनकुटामा सुरु गरेका कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न पनि एमालेले जित्नुपर्ने उनको तर्क छ। पार्टी विभाजनको असर धनकुटामा नगन्य रुपमा रहेको उनले बताए।

एमालेका सबै उम्मेदवारहरू धनकुटासँग परिचित व्यक्ति भएकाले सहजै निर्वाचन जितिने उनले बताए। उनले भने, ‘हाम्रो उम्मेदवार धनकुटाको धुलोसँग परिचित छन्, हामी निर्वाचन सजिलै जित्छाैँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.