|

झापा : पूर्वीतराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित पेटानी लोप हुँदै गएको छ। विशेष गरेर धिमाल महिलाको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो।

कुनै समय पेटानी लगाउँनैपर्ने धिमाल समुदायको युवतीमा पनि पश्चिमा संस्कृतिले महत्व पाउन थालेसँगै पछिल्ला दिनमा आएर आफ्नै समुदायभित्र पनि यसको महत्व घट्दै जान थालेको छ।

संस्कृतिजन्य प्राचीन पहिरन लोप हुँदै गएपछि आफ्नो पहिरनको संरक्षण, सम्बर्द्धनसमेतमा जोड दिँदै आएको पाइएको छ। दमक–१० मा पछिल्ला वर्ष त्यहाँका जाँगरिला महिलाले पेटानी संरक्षण गरिआएका छन्।

घरमै घरेलु उद्योगका रुपमा पेटानी तयार गरिआएको सावित्री धिमालले बताइन। करिब दुई दशक अघिबाट पेटानी बन्दै आइरहेको र त्यसै सीपलाई अहिले पनि निरन्तरता दिँदैआएको उनको भनाइ छ। 

धिमाल समुदायमा अहिले पनि पेटानीको माग धेरै रहेको छ। तर पेटानी बुन्न आवश्यक पर्ने कच्चा पदार्थको बजार मूल्य उच्च हुनु र लागत अनुरुप मूल्य नपाउने समस्या नहुँदा यस घरेलु उद्योग व्यवसायीकरण हुन नसकेको उद्यमी जमुना धिमालले बताइन्।

उनका अनुसार एउटा पेटानी तयार गर्न तीन दिनसम्म लाग्ने गरे पनि ती पेटानी बिक्रीका लागि वजारसमेत अभाव भएको र प्रतिथान रु दुई हजारसम्ममा बिक्री गर्न बाध्य छन्।

पेटानीको महत्व बुझेपछि विगत एक वर्षदेखि फुर्सदको समयमा पेटानी बुन्न थाल्दै आएका उनले आफ्नै समुदायभित्र पेटानीको बजार राम्रो भएकाले त्यसतर्फ आफू आकर्षित भएको बताछिन्।

यो समुदायमा शुभकार्य विवाहलगायतका उत्सव तथा पर्वमा पेटानीलाई अनिवार्यजस्तै मान्ने गरिन्छ। दुई वर्षअघि गाउँमै सिकेको सीपबाट अहिले पेटानी बुन्न उत्साह थपिदिएको दमक–१० कै पुष्पामाया धिमालको भनाइ छ। 

झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल जातिका संस्कृतिजन्य पहिरन पेटानीलगायतका वेषभूषाको संरक्षण र सम्बद्र्धन गर्न संस्थागतरुपमा सहयोग पुर्‍याउँदै आएको धिमाल जातीय विकास संस्थाका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.