आयोग भन्छ : मतदाता शिक्षालाई बजेट पुगेन

|

धनकुटा : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा मतदान कसरी गर्ने भन्ने विषयमा मतदाताहरू अलमलमा परेका छन्।

निर्वाचन कार्यालय तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूले मतदाता शिक्षालाई प्राथमिकतामा नराखेका कारण मतदाताहरू अलमलमा परेका हुन्। निर्वाचन आयोगले यसपटक वैशाख २९ र ३० गते मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। मतदाता शिक्षा छोटो समय सञ्चालन हुँदा धेरै मतहरू बदर हुने सम्भावना बढेर गएको छ।

धनकुटा नगरपालिका–२ भीरगाउँका गणेश कार्कीले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे अनविज्ञ रहेको बताए। जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफू जस्तै धेरै मतदाता अन्योलमा परेको उनको भनाइ छ।

गठबन्धनकै कारण मत बदरको जोखिम

दलहरूबीच चुनावी गठबन्धन भएको कारण र मतदाता शिक्षा सञ्चालन नभएका कारण मतहरू बदर हुने सम्भावना रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताए।

उनले भने, ‘बजेट अभावका कारण यसपटक  निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्न सकेन। गैरसरकारी क्षेत्रबाट पनि मतदाता शिक्षासम्बन्धी कार्यक्रमहरू हुन नसकेकोले समस्या देखिएको छ। जिल्लामा १ लाख १५ हजार ९ सय ६४ मतदाता रहेका छन्।’

किन हुन्छ त मत बदर?

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढेको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठ बताउँछन्। ‘मतदाता शिक्षा अभावले बढी मत बदर भइरहेको छ’, श्रेष्ठ भन्छन्, ‘आयोगले मतदाता शिक्षा त सञ्चालन गर्छ। तर, त्यो सञ्चालन गर्ने व्यक्ति समूहले राम्रोसँग काम गरिदिँदैनन्।’  आयोगले आधुनिक प्रविधिको प्रयोग गर्न हिचकिचाहटका कारण धेरै मत बदर भएको श्रेष्ठको भनाइ छ।

उनका अनुसार विद्युतीय मतदान उपकरणको प्रयोगमा हिचकिचाहटदेखि मतपत्रको डिजाइन, रङ र मतदाता शिक्षाको अभावलगायत कारणले धेरै मत बदर भइरहेको छ। छाप लगाउने प्रक्रिया, मतपत्रको रङ, मसीको रङ, स्वस्तिक छापको रबरका कारण मत बदर हुन्छ। कहिलेकाहीँ मतदान अधिकृत आत्तिएर वा भुलेर मतपत्रमा हस्ताक्षर गर्न बिर्सने गर्दा पनि मतपत्र बदर हुने गरेको श्रेष्ठले बताए।

मतदाताले स्वस्तिक छाप सही रूपमा लगाउन नजान्दा नचाहँदा मत बदर हुन्छ। यस्तै, एउटै चुनाव चिह्नमा धेरैपटक स्वस्तिक चिह्नको प्रयोग गरेको भेटिन्छ। स्वस्तिक चिह्नको सट्टा औंठाछाप लगाएको, चुनाव चिह्नमा डटपेनको प्रयोग गरेको पाइन्छ। तोकिएको घेराभित्र स्वस्तिक छाप पार्न नसक्ने, एउटै पदमा धेरै उम्मेदवारलाई मतदान गरेका मतपत्र भेटिन्छ।

दलहरूबीच गठबन्धन गर्दा उम्मेदवारी फिर्ता भएकालाई पनि मतदान गर्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ। अर्कातर्फ धेरै मतपत्रका कारण मतदाता अलमल भई कोठाभित्र सही रुपमा स्वस्तिक छाप लगाउन नसकेका मतपत्र बदर हुने क्रम बढेको जनाइएको छ।

निर्वाचन आयोगले २०६४ सालदेखि मतदाता शिक्षाको घरदैलो कार्यक्रम सञ्चालनमा ल्याएको थियो। तर, त्यो प्रभावकारी भएन। यसपटक स्थानीय निर्वाचनमा मतदान केन्द्रमै सूचना केन्द्र राख्ने आयोगको तयारी छ।

यसपटक घरदैलो कार्यक्रम हटाइएको आयोग सूचना अधिकारी श्रेष्ठले बताए।

आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमै मतदान सूचना केन्द्र बनाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो। ब्रोसर, सामाजिक सञ्जाल, अनलाइन मिडियालगायत माध्यमबाट भने कार्यक्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

दलहरू पनि भएनन् गम्भीर

हरेक निर्वाचनमा ठूलो संख्यामा मत बदर भइरहे पनि राजनीतिक दलले ‘गम्भीरतापूर्वक’ लिएका छैनन्। दलहरूको संरचना गाउँ–गाउँसम्म हुने हुँदा उनीहरूले राम्रोसँग मतदाता शिक्षा कार्यक्रम गर्दा सहज हुने निर्वाचन कार्यालय बताउँछ।

‘पार्टीको संयन्त्र परिचालन गर्ने हो मत बदर स्वतः घट्छ त्यसकारण राजनीतिक दल सक्रिय हुनुपर्छ,’ निर्वाचन अधिकारी श्रेष्ठ भन्छन्, ‘उनीहरूको संयन्त्र तल्लो तहमा छ। तर, उनीहरूको संयन्त्रले काम नगरेको अवस्था छ।’

नेपाली कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राई भने यसमा आयोग र दल दुवैको कमजोरी रहेको स्वीकार गर्छन्।

‘मतदाता शिक्षा प्रभावकारी नहुँदा नै मत बदर भइरहेको छ।,’ सचिव राई भन्छन्, ‘मतदाता शिक्षा दिने दायित्व आयोग र पार्टीहरूको हो। आयोगले पनि प्रभावकारी रुपमा शिक्षा दिनुपर्छ।’ मतदाता स्वयं पनि सचेत हुनुपर्ने राई बताउँछन्।

एमाले धनकुटाका सचिव निरन राई पनि मतदाता शिक्षाको अभाव मुख्य कारक रहेको बताउँछन्। दलहरूले गठबन्धन गरेर एउटै मतपत्रमा धेरै ठाउँमा मतदान गराउन लगाउँदा समस्या भएको नेता राईको भनाइ छ।

‘एउटै मतपत्रमा पनि भिन्नभिन्न उम्मेदवारलाई फरक–फरक चिह्नमा मतदान गराउन खोज्दा बदर हुन्छ’, राई भन्छन्, ‘२०७४ मा वाम गठबन्धन भयो। संघमा एउटा, प्रदेशमा अर्को र समानुपातिकमा आफ्नै दलको चिह्न खोजेर भोट हाल्नुपर्ने अवस्था भयो। मतदाता अलमलमा पर्दा त्यतिबेला धेरै मत बदर भयो।’

माओवादी केन्द्र धनकुटाका संयोजक डिल्लीराम राई भने बदर मत संख्या घटाउने मुख्य दायित्व निर्वाचन आयोगकै भएको तर्क गर्छन्। यसमा आयोग गैरजिम्मेवार भएको नेता राईको आरोप छ। ‘निर्वाचन आयोगले मतदाता शिक्षाको नाममा करोडौं खर्च गर्छ।’, राई भन्छन्, ‘त्यो पैसा कहाँ जान्छ? थाहा छैन। मतदाताले कुनै शिक्षा पाएका छैनन्।’ दल र उम्मेदवारको पनि दायित्व भए पनि सबैभन्दा ठूलो भूमिका आयोगकै भएको उनी बताउँछन्।

अशिक्षित मतदाताले धेरै बदर गर्छन्

एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई मतदाता अशिक्षित भएका कारण मत दिँदा धेरै बिग्रिने गरेको बताउँछन्। ‘गाउँघरका धेरै मानिस पढेलेखेका हुँदैनन्। उनीहरू जानकार पनि हुँदैनन्। भोट यसमा दे त भन्छन्। तर, कसरी दिने भनेर नसिकाएका कारण मत बदर हुने गरेको छ।’

रदैलो गरे पनि मतदाता शिक्षा दिने विषयमा दलहरूको कम चासो भएका कारण धेरै मत बिग्रिने उनको भनाइ छ।

गठबन्धन गरेका दलहरूले नै राम्ररी सिकाउन नसक्दा पनि मत बदर हुने गरेको निर्वाचन कार्यालय बताउँछ। निर्वाचन अधिकारी श्रेष्ठ गठबन्धन गरेर निर्वाचनमा जाँदा पनि धेरै मत बदर भएको बताउँछन्।

‘दलहरू गठबन्धन त गरेर गए तर आमनागरिकलाई त्यो विषयमा राम्रोसँग जानकारी गराएनन्,’ उनी भन्छन्, ‘जसले गर्दा धेरै मत बदर हुने भयो।’

एउटै पानामा लामो मतपत्र र थरीथरी चुनाव चिह्नका कारण मतदाता अलमलमा पर्दा पनि मतपत्र बदर हुने गरेको छ। ‘एउटै पानाको लामो मतपत्र हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘थरीथरी चिह्न हुन्छन्। समय छोटो हुन्छ। त्यसैले मतदाता अलमल भएर मतदान गर्दा धेरै मत बदर हुने गरेको पाइयो।’ आगामी स्थानीय निर्वाचनका लागि धनकुटामा २७ लहरको मतपत्र हुनेछ।

विकल्प विद्युतीय मतदान

मत बदर कम गर्न आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने विज्ञ बताउँछन्। विद्युतीय उपकरणको प्रयोगले मात्रै मत बदर रोकिने उनीहरूको तर्क छ।

पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई मत बदर रोक्न सबैभन्दा महत्वपूर्ण विकल्प नै  विद्युतीय उपकरणको प्रयोग भएको बताउँछन्। ‘पहिलो र सबभन्दा राम्रो भनेकै आधुनिक प्रविधि अर्थात् भोटिङ मेसिनको प्रयोग हो,’ उनी भन्छन्। विद्युतीय मतदानलाई बढावा दिनुपर्नेमा आयोग भने त्योबाट भागिरहेको छ। विद्युतीय मतदान उपकरण प्रयोगले मतदान थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।

नो भोट खोइ?

उम्मेदवार वा पार्टी मन नपरे कसैलाई पनि भोट नगर्ने भन्दै ‘नो भोट’को व्यवस्था मतपत्रमा राख्नुपर्ने माग पनि उठिरहेको छ। यससम्बन्धी व्यवस्थाका लागि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ ‘नो भोट’ को व्यवस्था राखिए बदर मत घट्न सक्ने बताउँछन्। ‘नो भोट सिस्टम राख्ने हो भने बदर मत घट्छ,’ उनी भन्छन्, ‘अहिले मन नपरी–नपरी पनि भोट हाल्नुपरेको छ। त्यसैले कतिपयले जानीजानी पनि मत बदर गराइराखेका हुन्छन्।’

दल, नेताको व्यवहार, क्रियाकपालले धेरै मतदाता निराश भएका कारणले भोट दिन नजाँदा पनि प्रश्न उठ्ने भएकाले उनीहरूले दुई चिह्नको बीचमा भोट हालेर बदर गर्ने गरेको हुनसक्ने उनी बताउँछन्।

कुन निर्वाचनमा कति बदर?

देशमा शिक्षाको प्रतिशत बढ्दो छ। सूचना–प्रविधिको विकासले फड्को मारेको छ। तापनि मतपत्र बदरको संख्या घट्न सकेको छैन। निर्वाचन कार्यालयका अनुसार गएका निर्वाचनमा धनकुटामा सरदर १० प्रतिशत बदर हुने गरेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा धनकुटामा ६९ हजार १६ मत खसेकोमा ६ हजार ५ सय १४ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ।

यस्तै, २०७४ मै भएको संघीय निर्वाचनमा ७० हजार २ सय ८० मत खसेकोमा ३ हजार ७ सय १६ मत बदर भएको छ। यता २०७४ कै प्रदेश निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र क मा ३७ हजार २ सय ७२ मत खसेकोमा १ हजार ७ सय ७० र प्रदेश निर्वाचन क्षेत्र ख मा ३५ हजार ९ सय ५ मत खसेकोमा १ हजार ४ सय ५३ मत बदर भएको छ। 

दलहरूले ०७४ को स्थानीय निर्वाचनमा गठबन्धन गर्दा पनि धेरै मत बदर भएको पाइएको थियो।

परम्परागत कागजी मतपत्र, ठूलो आकारको मतपत्र, राजनीतिक दल र उम्मेदवारलाई तालिमको अभाव, निर्वाचन शिक्षाको प्रचार–प्रसारको कमीका कारण मतपत्र बदर हुने गरेको विज्ञको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.