|

काठमाडौं : जिम्बावे ए विरुद्धको तेस्रो टि ट्वेन्टी क्रिकेटमा नेपाल ८ विकेटले विजयी भएको छ। ​

कीर्तिपुर क्रिकेट मैदानमा जिम्बावे ए ले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि आसिफ शेखले नटआउट ८७ रनको सानदार पारी खेले। उनले ५४ बलमा १३ चौका र एक छक्का प्रहार गरे। 

कुशल भुर्तेलले ३४ र बसिर अहमदले १० रन बनाए। यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पाहुना टोली जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो।

उसका रोय काइयाले सर्वाधिक ४९ रन जोडे। टाडिवानासे मरुमानीले २७, लुक जोङ्वेले नटआउट २३, इनोसेन्ट काइयाले १४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकको रन बनाउन सकेनन्। 

नेपालका सन्दीप लामिछानेले २, बसिर अहमद र सोमपाल कामीले एक-एक विकेट लिए। जितसँगै नेपालले श्रृंखला एक-एकको बराबरी गरेको छ। पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्ध भएको थियो। 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए सँग सिरिज खेलेको हो। टी–ट्वान्टी सिरिजपछि नेपाल र जिम्बावे ए ले तीन खेलको एकदिवसीय सिरिज पनि खेल्नेछन्।  

तीन खेलकाे सिरिज अन्तर्गत पहिलो एक दिवसीय खेल आगामी शुक्रबार हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.