|

काठमाडौं : यतिवेला शहरका चार नाटकघरमा चार वटा नाटक मञ्चन भइरहेको छ। 'खत', 'उलार', 'स्कुल' र 'पल्पसा क्याफे' क्रमशः पुरानो घर थिएटर, कौसी थिएटर, कुञ्ज थिएटर र मण्डला थिएटरमा मञ्चनरत नाटक हुन्। 

कोरोनाका कारण लामो समय निस्क्रिय रहेको नेपाली रंगमञ्च कोरोनाको संक्रमण न्यून भएसँगै फेरि लयमा फर्केको छ। गत असोजदेखि नियमित रुपमा नाटक मञ्चन भइरहे पनि नयाँ वर्ष लागेपछि चारदेखि पाँच वटासम्म नाटक एकसाथ मञ्चन भइरहेका छन्। कोरोनापछि दर्शकहरूले फेरि रोजेर नाटक हेर्न पाएका हुन्। 

खत

चैत २५ देखि मञ्चन शुरु भएको नाटक 'खत'को लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका हुन्। वैशाख १६ सम्म मञ्चन हुने भनिएको नाटक दर्शकको मागअनुसार वैशाख २५ सम्म चल्ने भएको हो। 

जनयुद्धको कथा रहेको नाटकमा थ्रिडी डिजाइनको सेट निर्माण गरिएको छ। जसले नाटकलाई अझ जीवन्त बनाएको छ। दर्शकलाई नै घटनाको साक्षी बनाइने नाटकले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको छ। 

खत पुरानो घरले आफ्नै भवनमा मञ्चन गरेको तेस्रो नाटक हो। यसअघि भारतीकै लेखन तथा निर्देशनमा 'म' र 'लाटीको छोरा' मञ्चन भएको थियो।

उलार

नयनराज पाण्डेको चर्चित उपन्यासमा आधारित नाटक 'उलार'को नाट्य रुपान्तरण तथा निर्देशन चे शंकरले गरेका हुन्। कमजोर आर्थिक अवस्था हुने मजदुर वर्गको कथा रहेको उपन्यासलाई नाटकमा रुपान्तरण गर्दा निर्देशकले कलात्मकता भर्ने प्रयास गरेका छन्।

'उलार'बाटै क्विन अफ थिएटरका रुपमा चिनिने सरिता गिरीले ५ वर्षपछि कमब्याक गरेकी छन्। वैशाख १८ सम्म मञ्चन हुने भनिएको यो नाटक पनि एक हप्ता थपिएको हो। नाटकले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

'उलार' गार्डेन थिएटर र कथा घेराको संयुक्त प्रस्तुति हो।

स्कुल

दिलिप बान्तवाको कथामा आधारित नाटक 'स्कुल' यतिवेला राजधानीको कुञ्ज थिएटरमा मञ्चन भइरहेको छ। सुरज तमुको परिकल्पना तथा निर्देशन रहेको नाटकमा भाषाका कारण बालबालिकाले विद्यालयमा भोग्नुपर्ने विभेदलाई मुख्य विषयवस्तु बनाइएको छ। 

कुञ्ज थिएटरसँग एक वर्षको सम्झौता गरी पुनरागमन गरेको गुरुकुलले लगातार नाटक मञ्चन गर्दै आएको छ। 'पुतलीको घर', 'ताराबाजी लै लै', 'भवचक्र' लगायतका नाटकपछि गुरुकुलकै प्रस्तुतिमा 'स्कुल' तयार भएको हो। 

वैशाख १४ मा शुरु भएको नाटक २८ गतेसम्म नियमित रुपमा मञ्चन हुँदै छ।

पल्पसा क्याफे

थिएटर भिलेजको प्रस्तुतिमा मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक 'पल्पसा क्याफे'को निर्देशन विमल सुवेदीले गरेका हुन्। नारायण वाग्लेको मदन पुरस्कारप्राप्त कृतिको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्। एक वर्षअघि नै मञ्चन हुने भनिएको नाटक कोरोनाका कारण हुन सकेको थिएन। 

नाटकमा मुख्य पात्र पल्पसा र दृश्यको भूमिकामा सृष्टि श्रेष्ठ र निर्देशक सुवेदी नै देखिएका छन्। वैशाख ९ मा मञ्चन शुरु भएको नाटकका अधिकांश शो हाउसफुल भएका छन्। जसले गर्दा हप्ताको ३ दिन शुक्रबार, शनिबार र आइतबार दुई वटा शो राखिएको छ। नाटक वैशाख २५ सम्म मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.