दयाहाङ र विपीन पर्दामा एकसाथ देखिँदै

|

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म 'के घर के डेरा'को छायांकन शुरु भएको छ। शुक्रबार शुभमुहूर्त गर्दै  औपचारिक रूपमा फिल्मको छायांकन शुरु गरिएको हो। 

कमेडी जनरामा बन्ने फिल्ममा सामाजिक विषयवस्तु समेटिने बताइएको छ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। खनालको निर्देशनमा दयाहाङ र विपीन पहिलो पटक काम गर्न लागेका हुन्। 

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा रहेको फिल्म शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको संयुक्त लगानीमा बन्न लागेको हो। फिल्ममा काठमाडौंमा घर भएकाहरू र डेरामा बस्नेहरूको कथा रहने बताइएको छ। जसको सम्पूर्ण छायांकन काठमाडौंमै हुनेछ। 

'पशुपतिप्रसाद', 'धनपति', 'आमा' लगायतका फिल्म निर्देशन गरेका खनालको 'चिसो मान्छे' प्रदर्शनको तयारीमा रहेको छ। चिसाे मान्छे आगामी असार पहिलाे हप्ता प्रदर्शनमा आउँदै छ भने 'के घर के डेरा' पनि यसै वर्षभित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टोली रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.